
जनकपुरधाम- नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रदेश २ मो महाधिवेसन प्रतिनिधी छनौटमा पार्टीका नेता रघुवीर महासेठले एकलौटी ढंगले छनौट गरेको भन्दै केहि नेता कार्यकर्ताहरुले आज जनकपुरधाममा विरोध नै प्रदर्शन गरेको ।
यता महोत्तरीमा पनि पूर्व माओवादी केन्द्रबाट एमालेमा आएका नेता कार्यकर्ता र एमालेबीच फाटोको स्थिती देखिएको छ । नेकपा एमालेका प्रदेश सांसद समेत रहेका किशोरी साह ‘कमल’ सहितका नेताहरुले शनिबार जनकपुरधाममा पार्टीका नेता महासेठले मनोमानी गरेको भन्दै विरोध जुलुस नै निकाले ।
पार्टीका स्थायी समिति सदस्य समेत रहेका महासेठले महाधिवेसन प्रतिनिधी छनौटमा मनोमानी गरेको भन्दै प्रदेश सांसद साहको नेतृत्वमा प्रदर्शन भएको हो ।
रेल्वे स्टेशनबाट महासेठ बिरुद्व निकालिएको बिरोध र्याली नगरको विभिन्न भाग परिक्रमा गर्दै एमाले पार्टी कार्यालयमा गएर टुँगिएको थियो । प्रदर्शनका क्रममा एमालेका नेता/कार्यकर्ताले महासेठ बिरुद्व चर्का नाराबाजी समेत गरेका थिए ।
एमालेको प्रदेशका प्रमुख सचेतक समेत रहेका साहले महासेठले पार्टीमा तानाशाह बनेर महाधिवेसन प्रतिनिधी छनौट गरेको बताए । ‘महासेठले आफ्ना आसेपासे र नातागोतालाई मात्रै महाधिवेसन प्रतिनिधि बनाएका छन्’ उनले भने, ‘त्यहीं कारण प्रदर्शनमा उत्र्नुपरेको हो ।’
महासेठले गलत प्रक्रियाबाट छनौट गरेका प्रतिनिधि खारेज गरी योग्य तथा क्षमतावानलाई प्रतिनिधी बनाउन माग गर्दै साहले नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका नेताहरुलाई समेत बेवास्ता गरेको आरोप लगाए ।
धनुषा जिल्लामा सहमतिबाट नै महाधिवेशन प्रतिनिधि चयन भएको बताइएपनि पूर्व माओवादीलाई पूणर् उपेक्षा गरिएको बताइएको छ । महासेठ समूहले एकलौटी गरेको आरोप असन्तुष्ट नेताहरुले लगाएका छन् ।
धनुषामा ५३ जना प्रतिनिधि मध्ये ३ जना दलित, १५ जन महिला र ३५ जना पुरुष महाधिवेशन प्रतिनिधि छानिएका छन् । असन्तुष्ट नेताहरुले पूर्ब माओवादीलाई जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा २/२ जना प्रतिनिधि दिइएको छ । कतिपय नेताहरुका अनुसार ५३ जना प्रतिनिधि मध्ये ४० जना महासेठ निकट रहेका छन् ।
यता नेकपा एमाले महोत्तरीको महाअधिवेसन प्रतिनिधि चयन अझै निष्कर्षमा पुग्न सकेको छैन । अन्य जिल्लामा प्रतिनिधिको टुङ्गो लागि सक्दा पनि महोत्तरीमा भने महाधिवेशन प्रतिनिधिका लागि आकांक्षीहरूबीच विवाद लम्बिदै गएको छ ।
यसअघि एमालेको एक पक्षले प्रतिनिधि छनौट सर्वसम्मत भएको भन्दै प्रदेशमा नाम पठाइसकेको छ । तर, अर्को पक्षले भने असन्तुष्ट जनाउँदै आएको छ । महोत्तरीमा एमालेका १७ हजार सात सय सदस्य छन् । चार वटै क्षेत्रबाट सदस्य संख्याको आधारमा ३० जनासम्म प्रतिनिधि चयन गर्नु पर्ने एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीको भनाइ छ ।
यता, नेकपा एमाले प्रदेश इन्चार्ज रघुवीर महासेठले प्रतिनिधि चयनमा कुनै विवाद नरहेको दाबी गरेका छन् । उनले महोत्तरीको पनि सर्वसम्मत नाम आइसकेको जिकिर गरे । तर, एक पक्षीय ढंगले आफुखुसी नाम राखेर प्रदेशमा पठाएको अर्को पक्षको आरोप छ ।
महाअधिवेशन नजिकिँदै गर्दा महोत्तरीमा के गर्ने भन्ने अन्यौल बढेको छ । इन्चार्ज माहासेठले यदि विवाद भएको भए पुनरावोलन गर्न सकिने पनि बताए । ‘हामी पार्टीको विधानअनुसार निर्वाचन आयोग गठन गरेर पनि अगाडि बढ्न सक्छौं,’ उनले भने । नेकपा एमालेले २७ कातिक भित्र देशैभरीबाट महाअधिवेशन प्रतिनिधि चयन गरिसक्न निर्देशन दिएको थियो ।
पूर्व माओवादी केन्द्रका नेता र एमालेबीच फाटोको स्थिति
माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरि महोत्तरीको इन्चार्ज बनेका टेकबहादुर बलाम्पाकीको निणर्यप्रति एमालेका नेताहरूले आपत्ती जनाएका छन् । उनले एउटा होटलमा बसेर ‘कोठे निणर्य’ गरेको र एमालेमा लामो समयसम्म योगदान गरेकाहरूलाई बेवास्ता गरेको बताउँदै आएका छन् ।
‘इन्चार्ज बलाम्पाकीले जबर्जस्ती नाम पठाउनु भएछ । त्यसमा हाम्रो पूणर् असहमति छ,’ नेता सन्त परियारले भने । बलाम्पाकीले पार्टीमा गुट उपगुट बनाउन लागेको नेताहरूको आरोप छ ।
बलाम्पाकीले एकतर्फी निणर्य गरेर पठाएको नाममा पुनरावलोकन हुनु पर्ने महोत्तरीका नेताहरूले अडान छ ।