
जनकपुधाम- राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमवार महोत्तरी आउँदै छिन् ।
महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको उदघाटन गर्न राष्ट्रपति भण्डारी आउने कार्यक्रम रहेको छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाद्वारा निर्माण गरिएको रङ्गशालाको उदघाटन सोमबार राष्ट्रपतिबाट १० बजे गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले कार्यक्रमको तयारी पूरा भइसकेको जनाए ।
जलेश्वरको परिकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा हेलिकप्टर ल्याण्ड गरिने र सोही ठाउँमा राष्ट्रपतिको स्वागत गर्ने र त्यहाँबाट सवारी साधनमा सडक यात्रा करिब ७ किलोमिटर दूरीमा रहेको मटिहानी लगिने कार्यक्रम रहेको जानकारी दिदैं नगरप्रमुख मण्डलले भने, ‘मटिहानीमा सर्वप्रथम मटिहानी मठमा पूजाअर्चना गरी त्यहाँबाट नेपाल कै सबैभन्दा पुरानो विद्यालय राजकीय संस्कृत माविको अवलोकन पश्चात रङ्गशालाको उदघाटन गरिनेछ ।’
नगरप्रमुख मण्डलले आर्थिक वर्ष २०७४-७५ मा शुरु गरिएको रङ्गशालाको निर्माणमा करिब एक करोड पाँच लाखको लागतमा निर्माण गरिएको जनाए । एक बिघा नौ कठ्ठा क्षेत्रफलमा फैलिएको यस रङ्गशालामा क्रिकेट, फुटबल, भलिबल, कबड्डी, जुडो कराँटे लगायतका खेल खेल्न सकिने यसक्षेत्र कै ठूलो रङ्गशाला भएको प्रमुख मण्डलले जनाए।
राष्ट्रपति भण्डारीको आगमनमा रणभीम गण परिकौलीबाट मटिहानीसम्म पुग्ने बाटोलाई सरसफाइ गरिएको छ भने खाल्डो रहेको ठाउँहरुमा बालुवा गिट्टीले मिलाइ पानी छर्किएको छ ।
नगरप्रमुख मण्डलले सुरक्षासमितिको बैठक बसेर सुरक्षाका उपायहरु समेत अवलम्बन गरिएको जानकारी दिदंै राष्ट्रपतिको स्वागतका लागि मटिहानी नगरवासी आतुर रहेको बताए ।
त्यसैगरी राष्ट्रपति भण्डारीको मटिहानीको कार्यक्रम पश्चात बाह्रैमास २४ सैं घण्टा जल मूनि बस्ने महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना र दर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।
राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजा अर्चना र दर्शनको लागि जलेश्वर आउने भएपछि उनको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयबासी निक्कै आत्तुर देखिएका छन् ।
उनको स्वागतका लागि जलेश्वर नगरपालिकाले विभिन्न स्थानमा स्वागतद्वारा निर्माण, बाबा जलेश्वरनाथ महादेव मन्दिरलाई सजाउने र राष्ट्रपतिको सम्मान गर्ने कार्यको विशेष तयारी गरेको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले बताए।
राष्ट्रपति भण्डारीको आगमनले जलेश्वरबासी शौभाग्यशाली भएको तथा उनलाई स्वागत सत्कार गर्न सम्पूणर् जलेश्वरबासी उत्साहित रहेको भन्दै जलेश्वर उद्योग बाणिज्य संघका महासचिव शिवचन्द्र चौधरीले उनलाई जलेश्वरबासीको तर्फबाट अभिनन्दन गर्दै मायाको चिनो प्रदान गर्ने कार्यक्रम समेत रहेको बताए।
राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरमा पूजा अर्चना तथा दर्शन गर्ने लगायतका कार्यक्रमको लागि सुरक्षा व्यवस्थाको सम्पूणर् जिम्मेवारी विशेष कार्यदलको रहेको र सम्पूर्ण तयारी पूरा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए।उनले राष्ट्रपतिको सुरक्षाको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी पूणर् रुपमा तयारी अवस्थामा रहेको तथा आ-आफ्ना जिम्मेवारीमा तल्लिन रहेको बताए।