काठमाडौं । नयाँ सत्ता गठबन्धनसम्बद्ध दलहरूबाट मन्त्री बनेका १७ जनाले मन्त्रालय पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूको मन्त्रालयीय कार्यविभाजन टुङ्ग्याएका हुन् ।
मन्त्रालय पाउनेमध्ये १४ जनाले बुधबार साँझ ५ बजेपछि पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् । ३ जनाले भने यसअघि नै ग्रहण गरिसकेका छन् । नेकपा (एमाले) का पदम गिरी, नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्यालले हिजै शपथ ग्रहण गरिसकेका छन् ।



माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । तर, सरकारमा क-कसलाई पठाउने भन्नेबारे भने टुङ्ग्याएको छैन । एकीकृत समाजवादीको भागमा सङ्घीय मामिला तथा सामान्य प्रशासन र शहरी विकास मन्त्रालय परेको छ ।
यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) भने ‘पर्ख र हेर’को अवस्थामा छ । पार्टीभित्र मधेसी मोर्चा बनाएर प्रधानमन्त्रीमा नै दाबी गर्नुपर्ने आवाज उठेपछि उनी अलमलमा परेका छन् । यद्यपि यसअघि गठबन्धनका दलहरूका बीचमा भएको ८ बुँदे सहमतिपत्रमा भने उनले हस्ताक्षर गरेका छन् ।
कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
नेकपा (एमाले)
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था
नेकपा (माओवादी केन्द्र)
नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, ऊर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
रवि लामिछाने, उपप्रधान तथा गृह
डोलप्रसाद अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा




