जनकपुरधाम- राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको जीवन चुरे रहेकाले यसको सबै एकवद्ध भएर संरक्षण गर्नुपर्ने बताएकी छन्। तराईको दिगो विकासका लागि बाढी र डुवानको समस्या हटाउन जरुरी रहेको बताउँदै उनले यसका लागि नदी नियन्त्रण र चुरे दोहन रोकी चुरेको संरक्षण गर्नु जरुरी रहेको बताईन् ।
आज सोमवार महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘चुरे तराईको जीवन हो’ यसको संरक्षण सम्बद्र्धन गर्न सबै एकजुट भएर लाग्नु पर्छ।’
चुरे विनाशले नै वर्षेनी डुबान र ठूलो जनधनको क्षति हुने गरेको बताउँदै राष्ट्रपति भण्डारीले चुरे दोहन रोक्नु र नदी प्रणालीलाई सुधारको आवश्यकतामा जोड दिइन्।
उनले भनिन्, ‘तराईलाई दिगो विकासको अवधारणाबाट विकास गरी बचाउनु पर्छ। समृद्ध बनाउनु पर्छ।’
उनले अन्नको भण्डार तराईलाई कृषि आधुनिकीकरण तथा व्यवसायीकरण गर्नुपर्ने बताइन्। देशमै सीप सिकाएर स्वरोजगारको वातावरण सृजना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने उनको भनाइ थियो।
देशको आर्थिक समृद्धि हासिल गर्न अन्न भण्डारको रुपमा परिचित यस क्षेत्रमा कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्नेमा जोड दिदै उनले कृषि क्षेत्रको समग्र विकासबाट थप रोजगारी प्रवद्र्धन भई असुरक्षित रोजगारीका लागि विदेश पलायनबाट युवालाई रोक्न सकिने विश्वास समेत व्यक्त गरिन् ।
पूर्व-पश्चिम राजमार्गले यस जिल्लालाई छोएकोले यहाँ विकासका पूर्वाधारहरु विस्तार गर्नसके पर्यटन व्यवसाय फस्टाउन सक्ने चर्चा गर्दै राष्ट्रपति भण्डारीले भनिन् , ‘यहाँका ऐतिहासिक शहर बजारहरुको सौन्दर्य बढाई जनताको सहज बसोबासका लागि खानेपानी, गुणस्तरीय सडक, विद्युतीकरण, सञ्चार सुविधा, ढल निकास र हरियाली प्रवद्र्धनमा ध्यान दिनुहोस् ।’
जनताको विकास आकांक्षाहरुलाई मूर्तरुप दिन जनप्रतिनिधिहरु लागिपर्नु खुशीको कुरा रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले जनआकांक्षालाई आत्मसात् गरी स्थानीय सरकार जनताका आवश्यकतालाई सम्बोधन गर्न अग्रसर हुनु खुशीको विषय भएको बताईन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै विकास निर्माण प्रक्रियाले मूर्तरुप लिइरहेकोमा खुशी व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले जनकनन्दिनी सीताको जन्मभूमीमा जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षाले सिर्जित गरिबीको समस्या हुनु चुनौती र दुःखको विषय भएको बताईन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘प्राचीन ऋषिहरुको ज्ञान, विवेचना र मीमांसाको यो थलोमा अझै पनि बालविवाह, अनमेल विवाह, दहेज र तिलक प्रथा तथा बोक्सीप्रथाजस्ता विकृति विसंगति हुनु दुःखको विषय हो ।’
उनले अष्टावक्र, याज्ञवल्क्य, गार्गी र मैत्रेयीजस्ता विद्वान विदुषीहरुको साधनाको केन्द्र रहेको यस भूमिमा यी विकृति विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेकोले बताउँदै उनले इतिहासबाट प्रेरणा लिदै वर्तमानमा हामीले यस्ता समस्या अन्त्यको लागि प्रयास गर्न जरुरी रहेको बताईन् ।
यहाँ तीनसय वर्षभन्दा पुरानो रहेको संस्कृत विद्यालयले हाम्रो देशमा शिक्षाको ज्योति छर्न महत्वपूणर् योगदान गरेको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘शैक्षिक जागरणका अग्रदुत बालागुरु षडानन्दले समेत अध्ययन गरेको यहाँको शैक्षिक केन्द्रको संरक्षण तथा सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हो ।’
प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सराहना गर्दै राष्ट्रपति भण्डारीले यस्ता कार्यक्रमलाई अन्य प्रदेशहरुले पनि लागु गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख मोहम्मद लालबाबु राउतले मटिहानी नगरपालिका धार्मिक सदभावको अनुकरणीय नगरी रहेको बताए ।
मटिहानी रंगशालाको उद्घाटन समारोहमा विशिष्ट अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले लक्ष्मी नारायण मठका साथै पिरबाबा र तसमैया बाबा प्रतिको जनआस्थाले मटिहानीलाई धार्मिक सद्भावको अनुकरणीय बनाएको उल्लेख गरे ।उनले संघीय सरकारको असहयोगले प्रदेश सरकारले जुन गति लिनुपर्ने हो त्यो लिन नसकेको बताउँँदै मानव सूचकाङ्कमा कर्णालीभन्दा पनि पछिपरेको बताए । उनले प्रदेश २ लाई सीमित स्रोतसाधनको वावजुद सुधारको दिशामा अगाडि बढिरहेको जनाए ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र, प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, प्रतिनिधिसभा सदस्य चन्दा चौधरी, प्रदेशसभा सदस्य अभिराम शर्मा, रानी शर्मा, सुरिता साह, जैनुल राईन, जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंह लगायतको उपस्थिती थियो ।
मटिहानीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भव्य स्वागत
राष्ट्रपति विद्यादेवी भण्डारीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ । रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त (मुस्लिम धर्मगुरु) पिर बाबाको भूमि मटिहानीमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत गरिएको हो ।
एतिहासिक विद्यालयको अवलोकन
करिब तीन करोड लागतमा एक बिघा १९ कठ्ठा क्षेत्रफलमा निर्मित रङ्गशालाको उद्घाटन पश्चात् राष्ट्रपति भण्डारीले मटिहानी स्थित नेपालकै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गरेकी छिन् । विद्यालय अवलोकनमा पुगेकी राष्ट्रपतिलाई छात्रले रुद्राभिषेक पाठ गर्दै स्वस्तिवाचन गरेका थिए । सो अवसरमा प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले विद्यालयको भौतिक र शैक्षिक अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराए ।मटिहानी स्थित लक्ष्मी नारायण मठमा पूजा अर्चना
५५० वर्षको इतिहास बोकेको मटिहानी स्थित लक्ष्मी नारायण मठमा पूजा अर्चना गरेकि छिन् । उनले लक्ष्मीनारायण मठको अवलोकन, लक्ष्मीनारायण मन्दिर र सन्त तश्मैयाबाबाको खन्तीको दर्शन र पूजाआराधना समेत गरिन् ।
बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना
राष्ट्रपति विद्यादेवी भण्डारीले मठिहानीको रंगशाला उद्घाटन पश्चात महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गरेकी छन् ।
आज राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि आउने भएपछि बाह््रै मास पानीमा जम्ने जलेश्वरनाथ महादेवको नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गरेकी थिइन् ।
जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिंढीमुनि जमिनभित्र रहेको छ । यहाँ सधै जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षभरि नै जलमै विराजमान रहने धार्मिक विश्वास छ ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले उक्त मन्दिरका मूल पूजारी उपेन्द्र पाठकका हातबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन् । यहाँ महादेवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिट मुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्र सम्भव हुने गर्दछ ।
राष्ट्रपति भण्डारी पूजाअर्चनाका लागि यहाँ आउँदा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र, सो मन्दिरका मूल पुजारी र पदाधिकारी तथा स्थानीयले स्वागत गरेका थिए ।