जनकपुरधाम- नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा धनुषामा अहिले सम्मको पालिकाको अधिवेशनको स्थितीमा देउवा पक्ष भन्दा निधि पक्ष बलियो अवस्थामा देखिएकोछ ।
सभापतिका प्रत्याशी विमलेन्द्र निधिको पक्ष अप्रत्याशित रुपमा बलियो भएको छ । देउवा पक्षको कमजोर नेतृत्वको कारण धनुषामा परिणाम उल्टेको नेताहरुले जनाएका छन् ।
उपसभापति निधि आफै तीन दिनदेखि धनुषामा सकृय भई लाग्दा धनुषामा केहि समय पूर्व सम्म देउवा पक्ष अत्यन्त बलियो देखिएकोमा अहिले उल्टो अवस्था सृजना भएको छ। देउवा समुहको नेतृत्वकर्ता नै कमजोर भएका कारण परिणाम उल्टिएको बताइएको छ । अर्को तर्फ रामचन्द्र पौडेल पक्षको नेतृत्व गरिरहेका रामकृष्ण यादवले मध्यमार्ग अपनाएर आफ्नो गुटको पक्षमा राम्रो नतिजा ल्याएको दाबि गर्दै छन् । एकजना नेताले धनुषामा निधि पछि पौडेल समुह कै अवस्था बलियो रहेको बताए।
आईतवार देखि सुरु भएको नेपाली कांग्रेसको पालिका अधिवेशन अन्तर्गत धनुषाका १८ स्थानीय तहमध्ये आठवटामा सर्वसम्मत नेतृत्व चयन भएका छन्।
निर्धारित तालिका बमोजिम जनकपुरधाम उपमहानगरपालिका सहित धनुषाका ९ वटा पालिकामा कांग्रेसका अधिवेशन सम्पन्न भएको छ भने विवादको कारण ९ वटा स्थानीय तहमा भने अधिवेशन हुन सकेको छैन।
कांग्रेस धनुषाका सभापति महेश शंकर गिरिले केहीमा सर्वसम्मतीको प्रयास भइरहेको छ भने केहीमा चुनाव गर्ने टुंगो लागिसकेको जानकारी दिए।
सभापति गिरिका अनुसार जनकपुरधाम उपमहानरपालिकामा मनोज साह, नगराइन नगरपालिकामा विनय यादव, क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव, हंसपुर नगरपालिकामा जयनारायण कापडी, धनुषाधाम नगरपालिकामा चन्द्रदेव यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव, लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र, मिथिला नगरपालिकामा जोगी महतो र औरही गाउँपालिकामा युगल सिंह कांग्रेसका सभापति चयन भएका छन्। यी पालिकामा सर्वसम्मतीमा नेतृत्व छानिएको हो।
त्यसैगरी मिथिला बिहारी नगरपालिका, धनौजी गाउँपालिका र बटेश्वर गाउँपालिकामा पनि सहमति जुटाउने प्रयास भइरहेको सभापति गिरिले जनाए ।
यस्तै सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका, सहिद नगरपालिका र जनकनन्दनी गाउँपालिकामा पनि सर्वसम्मती नजुटेपछि निर्वाचन गर्ने टुंगो लागिसकेको उनले बताए। सभापति गिरिले भोलि मंगलवारसम्ममा बाँकी सबै पालिकामा अधिवेशन सक्ने तयारी रहेको जानकारी दिए।
निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले पनि सहमती नजुटेको पालिकाहरुमा निर्वाचनको प्रकृया अगाडि बढिसकेको बताए । विवाद भएका कतिपय पालिकामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र आसन्न महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका देउवा खेमा कै कांग्रेस उपभासपति विमलेन्द्र निधिका पक्षधरबीच विवाद रहेको जनाइएको छ।