बिनिता यादव
धनुषा । स्थानीय तहबाट हुने योजना, बजेट तथा सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र जवाफदेही बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको छ । नागरिकलाई स्थानीय सरकारका कामबारे सूचना पाउने, प्रश्न गर्ने र सार्वजनिक सेवाको निगरानी गर्ने अवसर सुनिश्चित गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका हुन् ।



धनुषाको नगराइन नगरपालिकामा पालिकास्तरीय सामाजिक जवाफदेहिता औजार तथा यसको महत्वसम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्थानीय शासनका विभिन्न चरणमा नागरिकको सहभागिता बढाउनुपर्ने विषयमा छलफल भएको हो ।
कार्यक्रममा योजना छनोटदेखि बजेट निर्माण, कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनसम्मका प्रक्रियामा समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने बताइएको थियो । स्थानीय तहले सञ्चालन गर्ने योजना तथा कार्यक्रम समुदायको वास्तविक आवश्यकता र प्राथमिकतामा आधारित भए–नभएको विषयमा नागरिकले चासो राख्नुपर्ने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग सूचना तथा जवाफ माग्न सक्ने विषयमा समेत जानकारी गराइएको थियो ।

स्थानीय सरकारका कामकारबाहीबारे नागरिकलाई सहज र समयमै सूचना उपलब्ध गराउने, गुनासा तथा सुझाव सुन्ने र सार्वजनिक सेवासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायलाई उत्तरदायी बनाउने संयन्त्र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा विशेषगरी महिला, सीमान्तकृत, विपन्न तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायको सहभागिता स्थानीय शासनमा बढाउनुपर्ने बताइएको थियो । निर्णय प्रक्रियामा यस्ता समुदायको आवाज समेटिए स्थानीय तहका योजना तथा कार्यक्रम बढी आवश्यकता र समस्यामुखी हुने धारणा सहभागीहरूले राखेका थिए ।

युरोपेली युनियन र संयुक्त राष्ट्रसङ्घको सहयोगमा सञ्चालित ‘सशक्त महिला र समृद्ध नेपाल’ अभियान अन्तर्गत प्रो पब्लिक, Youth for Good Governance Promoting (YGGP) र NEEDS Nepal को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखीकरणमा सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, नागरिक अनुगमन तथा सरोकारवालाबीचको संवादलगायत सामाजिक जवाफदेहिताका औजारबारे सहजीकरण गरिएको थियो । सार्वजनिक स्रोत तथा बजेटको सदुपयोग, विकास आयोजनाको गुणस्तर र सार्वजनिक सेवाको प्रभावकारिताबारे नागरिक निगरानी बढाउन यी औजार उपयोगी हुने बताइएको थियो ।
कार्यक्रममा सामाजिक जवाफदेहितालाई औपचारिक कार्यक्रम वा एकपटकको अभ्यासमा सीमित नगरी स्थानीय तहका नियमित गतिविधिसँग जोड्नुपर्नेमा समेत जोड दिइएको थियो । स्थानीय सरकार र नागरिकबीच नियमित संवाद कायम भए सेवा प्रवाहका समस्या पहिचान तथा समाधान गर्न सहज हुने सहभागीहरूको भनाइ थियो ।
कार्यक्रममा नगराइन नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, महिला, सामाजिक रूपमा पछाडि पारिएका समुदायका प्रतिनिधि, नागरिक समाज र विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।




