काठमाडौँ -माओवादी केन्द्र पार्टीको नाम फेर्न तयार भएको छ । नेकपा एकीकृत समाजवादी (एस) सँगको एकता वार्तापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर समाजवादी मोडलको नाम राख्न सहमति बनेको हो ।
‘नाममा समाजवादी केन्द्र विकल्पका रूपमा आएको छ,’ वार्तामा सहभागी एक नेताले बताए ।नेकपा समाजवादी केन्द्र, नेकपा समाजवादी एकता केन्द्र, नेकपा वैज्ञानिक समाजवादीलगायत प्रस्तावित नाम छन् । एकतापछि पार्टीको चुनाव चिह्न भने कम्युनिस्टको प्रतीक झल्कने खोज्ने तयारी भइरहेको छ । एकतापछि निर्वाचन आयोगमा दर्ता नभएको नाम र चुनाव चिह्न राख्नुपर्नेछ ।
सहमतिअनुसार माओवादीले नाम र सिद्धान्त माओवाद छाड्ने भएको छ । माओवादीले २०७५ मा एमालेसँग एकता गर्दा नै माओवाद छाडेको थियो । विगतमा कम्युनिस्ट पार्टी एकता गर्दा वैचारिक र सैद्धान्तिक विषयमा लामो छलफल हुँदै आएकामा माओवादी र समाजवादीबीच सिद्धान्त र विचारका विषयमा भने छलफल नभएको स्रोतको भनाइ छ । ‘मार्गदर्शक सिद्धान्त, मार्क्सवाद, लेनिनवाद हुनेछ । संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता (आन्तरिक लोकतन्त्र), रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनेछ,’ वार्ता समितिका एक सदस्यले भने, ‘नयाँ पार्टीको समाजवादी कार्यक्रम र कार्यदिशामा हुने तय भएको छ ।’
दुई पार्टीले प्रधान अन्तरविरोधका रूपमा दलाल नोकरशाही हुने सैद्धान्तिक सहमति गरेका छन् ।एकतापछि हुने महाधिवेशन आयोजक समितिको संयोजक पुष्पकमल दाहाल हुनेछन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कुन पद दिनेबारे भने टुंगो लागेको छैन । तर उनी दोस्रो वरीयतामा रहने सम्भावना छ ।
दुई पार्टीको सांगठनिक संरचना अहिलेकै जस्तो परम्परागत हुने कि चुस्त बनाउने विषयमा पनि छलफल सुरु भएको छ । एकताका विषयमा एसका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको ‘रिजर्भेसन’भए पनि अध्यक्ष नेपाल बहुमत पदाधिकारीको समीकरणका आधारमा माओवादीसँग एकता गर्ने तयारीमा छन् । सचिवालय बैठकले माओवादीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको थियो ।
एसका वरिष्ठ नेता एवं उपाध्यक्ष बेदुराम भुसालले एकताका लागि आवश्यक पर्ने राजनीतिक, वैचारिक र सांगठनिक विषयमा करिब सहमति भइसकेकाले अब सांगठनिक संरचनाबारे छलफल केन्द्रित भएको बताए ।‘दुई पार्टीका बीचमा वैचारिक र सैद्धान्तिक रूपमा करिब सहमति भएको छ । अब पार्टीको सांगठनिक संरचना कस्तो हुनेमा छलफल केन्द्रित छ,’ उनले भने, ‘पार्टी नेतृत्वको संरचना बनाउने टुंगो भएको छ । पार्टीको कार्यकारी प्रमुख अध्यक्ष कि महासचिव भन्नेमा छलफल हुँदै छ ।
’माओवादी महासचिव देव गुरुङले दुई पार्टीबीच एकताका लागि टुंगो लागिनसकेको बताए । ‘सहमतिका लागि छलफल भइरहेको छ । जतिसक्यो छिटो सहमति हुन्छ, त्यति छिटो एकता हुन्छ’ उनले भने ।माओवादी नेतृ एवं वार्ता समितिका संयोजक रेखा शर्माले सकेसम्म पार्टीको विशेष महाधिवेशनअघि एकताको प्रयास भइरहेको बताइन् । ‘विशेष महाधिवेशनको तयारी र पार्टी एकताको गृहकार्य सँगसँगै भइरहेको छ,’ उनले भनिन् ।पार्टी एकताका लागि नेतृत्व रूपान्तरणको विषयलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ । ‘कसरी राम्रो नेतृत्व गर्ने अहिलेको चर्चित विषय हो,’ उनले भनिन्, ‘पार्टी एकताका लागि नेतृत्व रूपान्तरणको विषय पनि महत्त्वपूर्ण छ ।
’एसका महासचिव घनश्याम भुसाल भने आ–आफ्नो पार्टी पुनर्गठन गरेर मात्र वामपन्थी ध्रुवीकरण गर्ने पक्षमा छन् । उनी माओवादी र समाजवादीको पुरानै नेतृत्वमा पार्टी एकता गर्नुको अर्थ नभएको निष्कर्षमा पुगेका छन् । माओवादीसँग हुने पार्टी एकता प्रक्रियामा उनी संलग्न छैनन् । ‘यही नेतृत्व, यही पार्टी संरचना र यही विचारमा पार्टी एकता गरेर पनि केही हुँदैन,’ उनले भने, ‘पहिले आआफ्नो पार्टी र नेतृत्वको पुनर्गठन गरौं । त्यसपछि वामपन्थी ध्रुवीकरण गर्नुपर्छ ।
’उनले मुलुकमा सुशासन, वामपन्थी आन्दोलनका सबै इमानदार राजनीतिकर्मीहरूले दलहरूभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्नुपर्ने प्रस्ताव अघि सारेका छन् । ‘सबै वामपन्थी पार्टीहरूमा विचार, राजनीति, संगठन र मुद्दाहरूको भ्रष्टीकरण भएको स्वीकार गर्दै ती सबै क्षेत्रको वामपन्थीकरण गर्नुपर्छ,’ उनको भनाइ छ, ‘पुनर्गठित वामपन्थी पार्टीहरूलाई बृहत् ध्रुवीकरण र एकतातर्फ लैजानुपर्छ ।
’कार्यक्रमका रूपमा आगामी दस वर्षमा काम गर्ने उमेरका सबै नेपालीले रोजगारी पाउने र भ्रष्टाचार नहुने सुशासनयुक्त राज्यका साथ समाजवादको आधार तयार गर्ने ठोस कार्यक्रम ल्याएर मात्र विश्वास जगाउन सकिने उनको भनाइ छ ।एसका सम्मानित नेता झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् । माओवादीसँगको एकता स्वीकार्य नभएको भन्दै उनले फरक मत सार्वजनिक गरेका हुन् ।श्रीमती रविलक्ष्मीको उपचारका लागि भारतमा रहेका खनालले एक विज्ञप्ति जारी गर्दै ‘पार्टी एकीकरण गर्ने मौसम होइन र छैन’ भनेका छन् । जेन–जी आन्दोलनमा पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी थिइन् ।
पार्टी एकता अन्तिम चरणमा पुगेका बेला खनालले असहमति जनाउँदै सार्वजनिक विज्ञप्ति निकालेका हुन् । एकताका विषयमा छलफल गर्न काठमाडौंमा केन्द्रीय सचिवालय बैठक जारी रहेकै बेला खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका हुन् । ‘युवाहरूको जबर्जस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरूले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ,’ खनालले पठाएको पत्रमा उल्लेख छ । साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।
‘हरेक साना–ठूला पार्टीहरूमा र खुद जेन–जी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन् । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ,’ खनालले भनेका छन्, ‘पार्टी रूपान्तरण जनता, राष्ट्र, युग र समयको माग हो’ भन्दै उनले फगत पुस्तावादको माग मात्र नभएको उल्लेख गरेका छन् ।
‘सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो । त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन,’ खनालले भनेका छन्, ‘यति बेला हाम्रो पार्टीका निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौं ।’
२ भदौ २०७८ मा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । २०८१ असारमा भएको महाधिवेशनले नेपाललाई अध्यक्ष पदमा चयन गरेको थियो । २०७९ को आमनिर्वाचनमा प्रतिनिधिसभामा १० सिट ल्याए पनि राष्ट्रिय पार्टी बन्न सकेन ।




