जनकपुरधाम- राष्ट्रिय सभा चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवारको उम्मेदवारी खारेज गरिएको छ ।
लोसपाले राष्ट्रिय सभामा अन्य समूहबाट उम्मेदवार बनाएका श्याम सुन्दर सरदारको उम्मेदवारी प्रदेश निर्वाचन आयोगको कार्यालयले खारेज गरेको छ ।
उनी उम्मेदवारीको दर्ता गराएपनि आर्थिक लाभ लिने पदमा कार्यरत रहेको र प्रदेश सभाको समानुपातिक तर्फको बन्द सुचिमा समेत उनको नाम रहेकाले उम्मेदवार बन्न नसकेको प्रदेश २को निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिइन् ।
सप्तरीको कंचनरुप निवासी सरदार प्रदेश २ सरकारले २०७८ फागुन ६ मा गठन गरेको दलित विकास समितिका सदस्य भई समितिबाट आर्थिक लाभ लिइरहेका छन् ।
राष्ट्रिय सभा निर्वाचन निर्देशिका अनुसार आर्थिक लाभको पदमा रहेका व्यक्तिले उम्मेदबारी दिन नपाउने व्यवस्था रहेको छ । श्यामसुन्दर सरदारको उम्मेदवारी खारेज भएपछि प्रदेश २मा राष्ट्रियसभाको २ पदका लागि ४ दलबाट ५ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै लोसपाको तर्फबाट महिला कोटामा रुपा यादवको उम्मेदवारी मात्रै पर्न सकेको हो ।