धनुषा- दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै युथ एसोसिएसन अफ नेपालले वन तथा वातावरण मन्त्री रामसहाय यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।
बिहिवार मन्त्री यादवको मन्त्रालयमा एसोसिएसनका अध्यक्ष राहुलराज यादवको नेतृत्वमा युवाहरुले ज्ञापन पत्र बुझाएका छन् ।
महतोलाई पर्यावरण सहिदका साथै घटनाको छानविन केन्द्रीय स्तरबाट केन्द्रीय अनुसन्धान व्युरोसँग गराई दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
एसोसिएसनका अध्यक्ष यादव सहित चुडामणि यादव, संतोष बलराज यादव र सर्वजित यादवले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले यस सम्बन्धमा भोली नै गृह मन्त्रालयमा पत्र काट्ने आश्वासन दिएका हुन् ।
मन्त्री यादवले महतोलाई पर्यावरण सहिद घोषणा गराउनका लागि पहल गर्ने समेत आश्वासन दिएका हुन् ।
वातावरणको दोहन गर्ने विरुद्ध आवज उठाउने धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका राम जीवन महतोका २४ वर्षीय छोरा ओमप्रकाश महतो (दिलिप) को हत्या भएको थियो ।
२०७६ पुस २५ औरही खोलामा भइरहेको अवैध दोहन रोक्न पुगेका महतोको हत्या गरिएको थियो । उक्त घटनामा संलग्नहरुमाथि मुद्दा चलाएपनि तीनजनालाई घरौटीमा छाडिएको हो ।