
जनकपुरधाम- नेपाली काँग्रेसका प्रदेश २ का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पार्टीको १४ औँ महाधिवेशनमा प्रदेश २ को सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नै यादवले ४८ वर्ष देखि काँग्रेस पार्टीमा क्रियाशिल रहेको र पटक पटक गरेर साढे तीन वर्षसम्म जेलनेल पनि भागेकाले आफू प्रदेश समितिको सभापतिका लागि योग्य भएको भन्दै उम्मेदवारी घोषणा गरेको बताए।
उनले भने, ‘२०२९ सालमा नयाँ शिक्षा पद्धतिको विरुद्धमा भएको आन्दोलनबाट विद्यार्थी राजनीतिबाट यात्रा शुरु गरेको र रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामको स्वतन्त्र विद्यार्थी युनियनका सभापति समेत बनिसको छु ।’
उनले निरन्तर रुपमा पार्टीको धनुषा जिल्ला सचिवका साथै नेपाली काँग्रेस धनुषाका सभापति भएर पनि काम गरिसकेको र २०४९ सालमा जिल्ला विकास समितिको सभापति पदमा समेत कार्य गरिसकेको बताए।
उनले वि पी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि, विमलेन्द्र निधिसँग पनि पार्टीमा कामकाज गरेको बताउँदै प्रदेशमा काँग्रेसको सङ्गठन अझ बढी सुदृढ गर्नका लागि सभापतिको घोषणा गरेको बताए ।
पत्रकारले गरेको एक प्रश्नको जिज्ञासामा प्रदेश नंं २ का मन्त्री समेत रहेका यादवले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि घोषणा गरेका नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीका कुनै पनि नेता भन्दा योग्यता, क्षमता, पार्टीमा भएको लगानी तथा बुद्धिले कमजोर नभएकाले आफूहरू उहाँको साथमा रहेको बताए।
प्रदेश सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका यादवले आफू सभापतिमा निर्वाचित भएपछि पार्टी सङ्गठनलाई मजबुत बनाउनुका साथै पार्टीको प्रदेश स्तरीय पार्टी कार्यालय बनाउने घोषणा समेत गरे ।
नेपाली काँग्रेस धनुषाको अहिले रहेको भवनलाई पनि राम्रो बनाएर सोही ठाउँमा भव्य एवं आकर्षक भवनको निर्माण गरेर कार्यकर्ताहरूको भावनालाई कदर गरेर प्रदेश २ मा पार्टीलाई १ नम्बर पार्टी बनाउने दाबि गरे ।