जनकपुरधाम- प्रदेश २ सरकारले मधेशी शहिद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, जनयुद्ध र जनआन्दोलन लगायतका आन्दोलनको क्रममा शहिद भएकाको परिवार तथा घाइतेहरूको हकहितका लागि सरकारले मधेशी शहिद प्रतिष्ठान गठन गरेका हुन् ।
मधेशी शहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, शहिद तथा घाइते परिवारबाट चारजना सदस्य र मुख्यमन्त्री कार्यालय लगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।
प्रतिष्ठानको निर्देशिका अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज प्रतिष्ठानमा दुईजना मधेश आन्दोलन र माओवादी जनयुद्धका दुई/दुईजना शहिद परिवारका सदस्य गरी चारजनालाई नियुक्त गरेको छ ।
जनयुद्धका शहिद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाल तथा मधेश आन्दोलनका शहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पी कुमारी साहलाई प्रतिष्ठानमा नियुक्त गरेको छ ।
चारजना शहिद परिवारबाट सदस्य नियुक्त भएकाहरुलाई आज बिहीबार एक कार्यक्रमका बीच प्रतिष्ठानका अध्यक्ष समेत रहेका आन्तरिक मामिलामन्त्री भरत प्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन् ।
प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले शहिद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यहरुलाई निर्देशन समेत दिए ।