महोत्तरी - महोत्तरीको गौशाला नगरपालिकाका १ सय ४० जना सुकुम्बासीले बस्दैं आएका घडेरीको लालपुर्जा पाएका छन् । गाउँ ब्लक जग्गामा बस्नेहरुलाई नापी कार्यालय महोत्तरीले लालपुर्जा दिएको हो ।
गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले एक समाहरोका बीच सुकुम्बासीको हातहातमा लालपुर्जा दिएर जग्गाधनी बनाएका छन् । गौशाला नगरपालिका वडा नम्बर १०, ११, १२ का गरिव तथा सुकुम्बासीले पुस्तौंदेखि बस्दैं आएको घडेरीको लालपुर्जा पाएपछि खुसी भएका छन् । आउँदो असार मसान्त भित्र नगरका कोही पनि व्यक्ति सुकुम्बासी नरहने मेयर महतोले खुलासा गरेका छन् ।
सुकुम्बासी तथा अव्यस्थित बसोबासी समस्या समाधान आयोगसंग हालै गौशाला नगरपालिकाले गरेको सम्झौता कार्यान्वयनमा आएको उनले बताए । ‘नगरपालिका भित्र रहेको सुकुम्बासीहरुको तथ्यांक संकलन प्रक्रिया बढाएका छौं,’मेयर महतोले भने,‘गरिवहरुलाई अब हामी जग्गाको धनी बनाउँछौं ।’
उप–मेयर आशा लामाले बर्षौपछिको प्रयासपछि गाँउ व्लकमा वसोवास गर्दै आएकोलाई नापी कार्यालयले लालपूर्जा गराएको बताईन् ।