चितवन- नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। चितवनको सौराहमा बिहान चार बजेदेखि शुरु भएको मतदान बिहान ११ बज्नुअघि नै सकिएको हो।
दशौँ महाधिवेशनमा पहिलोपटक विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको छ। २ हजार ८० मत खसेकाे निर्वाचन समिति जनाएकाे छ। मतदान सकिएसँगै मतदानस्थलको गेट बन्द गरिएको छ।



मतदान सम्पन्न भएको दुई घण्टामै नतिजा आउने समितिले जनाएको छ। २ बजेभित्रै नतिजा पनि आइसक्ने निर्वाचन समितिका सदस्य कमल पाठकले बताए।
सर्वसम्मत कमिटी निर्माणका लागि अन्तिमसम्म प्रयास गरे पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो। बन्दसत्रमा केपी शर्मा ओलीले प्रस्ताव गरेको नाम सूचीमा भीम रावल, घनश्याम भुसाललगायत नेताहरुले विरोध गरेपछि चुनाव भएको हो।
जसअनुसार अध्यक्ष केपी शर्मा अोली र भीम रावलबीच चुनावी प्रतिस्पर्धा छ। यस्तै, उपाध्यक्षमा ओलीको सूचीमा नपरेका भुसालले प्रतिस्पर्धा गरिरहेका छन्। सचिवमा पनि भीम आचार्य र टंक कार्की प्रतिस्पर्धामा उत्रिए।




