जनकपुरधाम- रामजानकी विवाहपञ्चमी महोत्सव जनकपुरधाममा आजदेखि विधिवत शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवको आज शुक्रवार पहिलो दिन आज नगर दर्शन कार्यक्रम रहेको छ ।
नगरदर्शनमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई जानकी मन्दिरको प्रागंणमा मिथिलानगर बनाएर घुमाइन्छ । आज जानकी मन्दिर प्रांगणमा यो कार्यक्रम आयोजन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णवले जानकारी दिए।
नगरदर्शन हेर्न जानकी मन्दिरमा आजको दिन श्रद्धालुको भीड लाग्ने गर्दछ ।दर्शनार्थीहरूले राम लक्ष्मणलाई फूल वर्साएरले स्वागत गर्ने गर्दछन् ।
आजदेखि सुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ । भोलि शनिबार फूलबारी लीला, मंसिर १९ गते गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर र विवाह तथा २३ गते रामकलेवा गरि महोत्सव सम्पन्न हुनेछ। मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्य रुपमा मनाइन्छ ।
जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल, भारत लगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् ।
त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि प्रतिस्पर्धामा राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारे पछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा यस महोत्सवको आयोजना हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जनाए।
गोस्वामी तुलसी दासको रामायण अनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ३३ कोटी देवी देवताको उपस्थिति थियो । सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमन देखि बिहे सम्म सहभागी हुन्छन् ।
यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाई लगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गरेका छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार पनि हुने गरेको छ ।
पौराणिक व्यवस्था अनुसार राममन्दिरबाट बाजागाजा र झाँकी सहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोलीमा राखी रंगभूमि पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रंगभूमिमा पुर्याइन्छ । रंगभूमिमा स्वयम्बर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीता-रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृति अनुसार विवाह सम्पन्न गरिन्छ ।
विवाहपञ्चमी महोत्सवको तयारीको जानकी मन्दिरमा सर्वदलिय तथा सर्व पक्षीय बैठक सम्पन्न
महोत्व मनाउनको लागि जानकी मन्दिरमा सर्वदलिय तथा सर्व पक्षीय वैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रुपमा मनाइउनको लागि तयारीमा जुटन मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले सबैलाई आग्रह गरेका छन् । सर्वपक्षीय बैठकवाट विभिन्न समिति उपसमितीहरु गठन गरिएको छ । शान्ती शुरक्षा व्यवस्थाको उपसमिति, प्रचार प्रसार व्यवस्था उपसमिति, बजार व्यवस्था, रंगभूमी मा गेट, पंडाल व्यवस्थापन समिति, यातायात व्यवस्था, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचार लगायतका विभिन्न समितिहरु गठन गरिएको महन्थ दासले बताए ।
यस वर्ष पनि अयोध्याबाट जन्ती नआउने
विवाहपञ्चममी महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने चलन रहेकोमा केहि वर्ष देखि सो रोकिएको र यस वर्ष पनि भारतको अयोध्याबाट औपचारिक रूपमा जन्ती नआउने भएका छन्। तर विधिका लागि केही मात्रामा साधुसन्त तथा महन्थहरू आउने उत्तराधिकारी महन्थ दासले जानकारी दिए। कोरोना संक्रमण फैलिएदेखि अयोध्याबाट विवाहपञ्चमीमा जन्तीहरू आएका छैनन्।
जनकपुरधाममा हुने महोत्सवमध्ये सबैभन्दा ठूलो महोत्सवका रूपमा रामजानकी विवाह पञ्चमी महामहोत्सव मनाइने गरिन्छ। विगतका दुई वर्ष कोरोनाले प्रभावित भएको महोत्सव यस वर्ष केही सन्तोषजनक हुने विश्वास गरिएको छ। दुवै देशमा कोरोना अहिले नियन्त्रणको अवस्थामा रहेकाले महोत्सवमा अत्यधिक भीड हुने अनुमान गरिएको छ।
विवाहपञ्चमी महोत्सवको तयारीमा जुट्न मुख्यमन्त्री राउतको निर्देशन
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवको समग्र तयारीमा जुट्न सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभएको छ। बुधबार प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखहरूसहितको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले विवाहपञ्चमी महोत्सव प्रदेशको धरोहर रहेकाले यसलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिए ।
मुख्यमन्त्री राउतले महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायहरूलाई निर्देशन दिनुभएको हो । थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरिदिने प्रतिबद्धता जनाए।
विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फबाट मूलनाकाहरूमा प्रवेशद्वारा निर्माण गर्नुका साथै खानेपानीको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरूलाई मुख्यमन्त्री राउतले निर्देशन दिए।
विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुरधाममा सरसफाई अभियान जारी
विवाह पञ्चमी महामहोत्सवलाई दृष्टिगत गरी जनकपुरधाममा बृहत् सरसफाई अभियान जारी रहेको छ । विवाहपञ्चमीको मूल कार्यक्रम हुने जानकी मन्दिर, रंगभूमि मैदानलाई केन्द्रित गरेर बृहत् सरसफाइ गर्ने काम सम्पन्न भएको हो।
जानकी मन्दिरका सह महन्थ रामरोशन दास वैष्णवको अगुवाइमा भएको बृहत् सरसफाईमा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी सहितका विशिष्ट व्यक्तिहरू सहभागीता रहेको थियो।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, सुरक्षा निकायका प्रदेशका प्रमुखहरू, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला सहितका सुरक्षा निकायहरूको सहभागितामा भएको बृहत् सरसफाइ कार्यक्रममा तीनै सुरक्षा निकायका सुरक्षा सुरक्षाकर्मीहरू र जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। र यो सरसफाई अभियान जारी रहेको छ।
विवाहपञ्चमी महोत्सव अवधिभर जनकपुरधाममा माछा-मासु र मदिरा सेवन तथा बिक्री-वितरणमा रोक
विवाहपञ्चमी महोत्सव अवधिभर जनकपुरधाम नगरक्षेत्रमा माछा-मासु, मदिरा तथा लागुपदार्थ सेवन र बिक्री-वितरणमा रोक लगाइएको छ।
जनकपुरधाम उपमहानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मंसिर १७ देखि २६ गतेसम्म नगरक्षेत्रमा माछा-मासु, मदिरा तथा लागुपदार्थ सेवन र बिक्री-वितरणमा रोक लगाइएको जनाएको छ।
आज शुक्रबारदेखि सुरु हुन लागेको राम-जानकी विवाहपञ्चमी महोत्सवलाई ध्यानमा राख्दै मंसिर २६ गतेसम्म माछा-मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री-वितरण गर्न पूणर् निषेध गरिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।