
जनकपुरधाम- नेपाली काँग्रेसको प्रदेश २ को अधिवेशन उद्घाटनको औपचारिकता पछि स्थगित भएको छ । प्रदेश २ का धनुषा बाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन संयोजक रमेश रिजालले बताए । अब प्रदेश २ को नेतृत्व चयन केन्द्रीय महाधिवेशनपछि मात्र हुने बताइएको छ। प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि मनोनय दर्ता लगायतका चुनावी प्रक्रिया अगाडि बढेको छैन् । यता प्रदेश सभापति लगायतका पदहरुमा आकांक्षीहरुले औपचारिक रुपमा उम्मेदवारी समेत घोषणा गरिसकेका छन् । प्रदेशका ८ जिल्लाका ३२ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समिति सदस्य अरुण यादवले बताए। सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन। त्यसैगरी, सर्लाहीमा त अहिलेसम्म वडा अधिवेशन समेत हुन सकेको छैन। निर्वाचन समितिका सदस्य यादवको अनुसार सर्लाही जिल्लामा अधिवेशनको प्रक्रिया बाधित छ । जिल्लाको निर्वाचन समितिहरुबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्व घोषित निर्वाचन तालिका अनुसार शनिवार मतदाता नामावली प्रकाशन हुन हुन नसक्दा मतदाताहरुको नामावली शनिवार प्रकाशन हुन सकेन। उनले भने, ‘मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आईतवार हुने भनिएको मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ । रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन नसकेको यादवले जनाए ।’ श्रोतका अनुसार प्रदेशको नेतृ्त्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुने छ । यता जनकपुरधाममा रामजानकी विवाह महोत्सव प्रारम्भ भइसकेको र मूल समारोह मंसिर २२ गते रहेकाले अब मतदान प्रकृयामा गाह््रो हुने हुँदा मतदानको प्रक्रिया महाधिवेशन पछि नै धकेलिएको श्रोतको दाबी छ । प्रदेश सभापतिका लागि प्रदेश २ नेपाली काँग्रेसका संसदीय दलका नेता तथा प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रहेका रामसरोज यादव स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी रौतहटका कृष्णा यादवले भने प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको प्यानलबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उच्च श्रोतहरुका अनुसार महाधिवेशन अगावै प्रदेशको चुनाव भए मन्त्री राम सरोज यादवलाई उपसभापति विमलेन्द्र निधि र रामचन्द्र पौडेलको समूहले समर्थन गर्नेछ । निधिलाई यादवको पक्षमा लाग्नु पर्ने बाध्यता रहेको काँग्रेसी नेताहरुको कथन छ । उनलाई पौडेल समूहले समेत आन्तरिक समर्थन जनाएकाले सभापतिमा बलियो उम्मेदवार देखिएका हुन् । रौतहटबाट कांग्रेसको नेतृत्व गर्ने कृष्णा यादवलाई देउवा पक्षको समर्थन रहेको हुदा उनि पनि राम्रो सम्भावना बोकेको उम्मेदवार देखिएका छन् । धनुषामा सतही रुपमा कांग्रेसको बराबरको विभाजन देखिए पनि मतदानमा मन्त्री यादव धेरै भारी हुने छन् । उनलाई संस्थापन पक्षको मत समेत आउने संभावना रहेको श्रोतको दाबि छ । निधि सित असन्तुष्ट रहेका मन्त्री यादवलाई पौडेल समूहका रामकृष्ण यादव लगायतका नेताहरु सहयोग गर्ने प्रतिबद्धता आन्तरिक रुपमा जनाएका छन् ।उनीहरुले महाधिवेशनमा मन्त्री यादव समूहको मत तान्ने प्रयासमा छन् । त्यस्तै प्रदेश २ को जिल्ला अधिवेशन पनि महाधिवेशनपछि नै हुनेछ । उपसभापति निधिले पनि जिल्ला र प्रदेशको अधिवेशन महाधिवेशनपछि नै होस भने चाहेका छन् ।उनि केन्द्रीय सभापतिमा उम्मेदवारीको घोषणा गरेकाले जिल्ला र प्रदेशको विवादमा अल्झेर प्रदेश २ को मत विभाजन हुने अवस्थालाई चिर्नको लागि पनि निधिले महाधिवेशन पछि मात्र प्रदेश र जिल्लाको अधिवेशन होस् भन्ने चाहेका छन् । प्रदेश २ को सबै जिल्लाका प्रतिनिधिहरु छनौट भइसकेपछि प्रदेशका लागि कूल मतदाता १ हजार ८ सय ८८ रहने छन् । हाल सम्म सशक्त रुपमा रामसरोज यादव र कृष्णा यादव प्रदेश सभापतिमा भीड्ने तयारी गरेको देखिएको छ । मन्त्री यादवले गुटबन्दीमा नदेखिन स्वतन्त्र रुपमा नै उम्मेदवारी घोषणा गरेका थिए भने कृष्णा यादवको उम्मेदवारी घोषणामा धनुषाबाट संस्थापन पक्षका आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति थियो । त्यस्तै नेता रञ्जीत कणर्ले पनि प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। कणर्ले आफू स्वतन्त्रबाट उम्मेदवारी दिए पनि रामचन्द्र पौडेल र शशांका कोइराला समूहको समर्थन रहने बताए। रौतहट जिल्ला सभापति समेत रहेका कृष्णा यादवले आफ्नै जिल्लामा विवादलाई मिलाउन नसकेर कमजोर देखिएका छन् । रौतहट जिल्लामा अझै अधिवेशन भइसकेको परिणाम प्रदेश निर्वाचन समितिमा प्राप्त हुन सकेको छैन् । रौतहट क्षेत्र नं.४ को अधिवेशनलाई लिएर उजुरी परेको र त्यसमाथि सुनुवाइ भएपछि मात्रै निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र दिइने रौतहटका निर्वाचन अधिकृत दिपकराज रेग्मीले बताए। रौतहट ४ को क्षेत्रीय सभापतिका प्रत्याशी प्रेमशंकर यादवले निर्वाचन बदर गरी पाउँ भनी दिएको उजुरीका कारण निर्वाचित प्रतिनिधिलाई अहिलेसम्म प्रमाणपत्र दिन नसकिएको उनको भनाइ छ। रौतहट निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिका लागि भएको मतदानमा २५७ मत ल्याएर रामसिनेही यादव निर्वाचित भएका छन्। अर्का उम्मेदवार प्रेमशंकर यादवले २३७ मत पाएका छन्। निर्वाचनमा धाँधली भएको भन्दै प्रेमशंकरले उजुरी दिएका हुन्। रौतहटका निर्वाचन अधिकृत रेग्मीले उजुरी परेपछि मतदान अधिकृतलाई सत्य तथ्य बुझेर प्रतिवेदन बुझाउन भनेको बताए। आजै यो विवाद साम्य हुने निर्वाचन अधिकृत रेग्मीको भनाइ छ। सर्लाही जिल्लाको संघीय क्षेत्रीय अधिवेशन नभए महाधिवेशनमा समेत सहभागिता नहुने अवस्था आउन सक्छ । संघीय साँसद अमरेश कुमार सिंह र प्रदेश मन्त्री वीरेन्द्र सिंह बीचको विवादले निर्वाचन क्षेत्र नम्बर ४ लगायत जिल्लाको वडा अधिवेशनहरु नै हुन सकेको छैन् । यता महोत्तरीको क्षेत्र नं. ३ का मतदान अधिकृत धीरेन्द्र मण्डलले आफूलाई अपहरण गरेर निर्वाचित प्रमाणपत्रमा जबर्जस्ती हस्ताक्षर गराइएको भन्दै राजिनामा दिएका छन्। उनले प्रतिनिधिका प्रमाणपत्र रद्द गर्न अनुरोध गर्दै राजीनामा दिएका छन् । यसरी विभिन्न जिल्लामा विवाद देखिएको हुँदा प्रदेश र जिल्लाको अधिवेशन अन्यौलमा परेको छ ।