
महोत्तरी- नेपाली काँग्रेसको चल्दै गरेको १४ औ महाधिवेशनको तयारी अन्तर्गत महोत्तरीको क्षेत्र नं. ३ मा भएको क्षेत्रिय अधिवेशनमा धाँधली भएको तथा निर्वाचन अधिकृतलाई नै अपहरण शैलीमा लगिएको भन्दै एकतर्फी रुपमा निणर्य गर्दै वितरण गरिएको सम्पुर्ण प्रमाणपत्रहरु नेपाली काँग्रेस, केन्द्रिय निर्वाचन समतिले रद्द गरिदिएको छ ।
आईतवार अपरान्ह केन्द्रिय निर्वाचन समितिले पत्र जारी गर्दै क्षेत्र नं. ३ को क्षेत्रिय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने केन्द्रिय महाधिवेशन प्रतिनिधी साथै महासमिति सदस्यको निर्वाचन भएको नदेखिएकोले सो क्षेत्रको क्षेत्रिय कार्यसमिति,महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यको निर्वाचन तत्काल गर्ने र उक्त पदहरुका अवैधानिक रुपमा वितरण गरिएका सम्पुर्ण प्रमाणपत्र रद्द गरिएको उल्लेख छ ।
गत मंसिर १५ गते क्षेत्रिय अधिवेशन उदघाटन भएको र ततपश्चात बन्दसत्र शुरु गरि सहमतिको प्रयास गर्न खोज्दा हो हल्ला भई बन्दसत्र स्थगित भएको र दुई दिन पछि १७ गते साझ जनकपुर उपमहानगरपालिका ८ स्थित आफ्नो घरमा बसी रहेको अवस्थामा केहि अपरिचित व्यक्तिहरुले आफुलाई अपहरणको शैलीमा घरबाट अन्यत्र लगि आफुसंग भएको निर्वाचनको प्रमाणपत्र लगायतका कागजात सवै कव्जामा लिई आफुखुशी वितरण गरेको भनि क्षेत्रका मतदान अधिकृत धिरेन्द्र मण्डलले जिल्ला निर्वाचन कार्यालय समक्ष प्रतिवेदन पेश गरेपछि सोहि प्रतिवेदनलाई समर्थन गर्दै जिल्ला निर्वाचन अधिकृत ईन्द्र बहादुर अधिकारीबाट केन्द्रिय निर्वाचन समितिमा प्रतिवेदन पेश भएपछि केन्द्रिय निर्वाचन समितिले वैठक वसेर उक्त निर्णय गरेको हो ।
क्षेत्रिय अधिवेशनमा क्षेत्र नं. ३ का प्रभावशाली नेता रामचन्द्र तिवारी पक्षले धाँधली र होहल्ला गरेपछि अर्को पक्षले अधिवेशन वहिस्कार गर्दै वाहिरिएपछि नेता तिवारीले नियम कानुन उल्लंघन गर्दै मतदान अधिकृत नै अपहरण शैलीमा उठाएपछि केन्द्रले यसलाई गम्भिर रुपमा लिएको छ ।
