
जनकपुरधाम- जनकपुरधामको कपिलेश्वर टोल बस्ने २७ वर्षीया पुजा साह तीन हप्तादेखि दुई बच्चासहित बेपत्ता भएकी छन् । फागुन २३ गतेदेखि सम्पर्कविहीन भएकी पुजाको खोजीका लागि उनका परिवारजनहरूले स्थानीय प्रहरी चौकीमा निवेदन दिएका छन् ।
पुजा साहका श्रीमान सञ्जय साहका अनुसार उनकी पत्नी पुजा ७ वर्षीया छोरी वर्षा साह र ३ महिनाकी छोरी अंशु साहको साथमा हराइरहेकी छन् ।
साहले भने, ‘हामीले सम्पर्क गर्ने प्रयास गरिरहेका छौं । मैले प्रहरी चौकीमा निवेदन दिएको छु । खोजीका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छु ।’
पुजा भारतको मधुवनी जिल्लाका बासोपर्टी अर्घावा निवासी हुन् । १० वर्षदेखि जनकपुरधाममा लेबरको काम गर्दै आएका साहले भने, ‘हामी जनकपुरधाममा बस्दै आएका थियौं । अचानक उनी र मेरा बच्चा हराए । यससम्बन्धी कुनै पनि जानकारी पाउन सकेको छैन ।’
सञ्जयले भने, ‘यदि कसैले उनीहरूलाई देखेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिनु होला ।’
