जनकपुरधाम- नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर-३ मा अधिवेशनको सन्दर्भमा भएको कुनै विवाद नभएको पार्टीका पूर्वकेन्द्रीय सदस्य रामचन्द्र तिवारीले दाबी गरेका छन् ।
नेता तिवारीले आज आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्तरी क्षेत्र नम्बर-३ को क्षेत्रीय अधिवेशन विधिसम्मत ढंगले सम्पन्न भएको दाबि गरेका हुन् ।
तिवारीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट सम्पन्न भएको अधिवेशनलाई केही व्यक्तिले भ्रम मात्र सिर्जना गरेको जिकिर गर्दै नेता तिवारीले भने, ‘निर्वाचन अधिकृत धीरेन्द्र मण्डल स्वयंले सम्पूणर् पदाधिकारीको प्रमाणपत्र वितरण गरेका थिए । यसमा धाँधलीको कुरा कहाँबाट आयो ?’
निर्वाचन अधिकृत मण्डललाई अर्को पक्षले नै पछि अपहरण गरेर बेपत्ता बनाएको र अहिले उनको मोबाइल स्वीच अफ हुनुका साथै भेटघाट पनि नभएको तिवारीले बताए ।
यता, महोत्तरी क्षेत्र नम्बर-३ मा अवैधानिक तरिकाले आफूलाई अपहरण गरि प्रमाणपत्र लिएकोले त्यसलाई रद्द गर्न माग गर्दै मतदान अधिकृत मण्डलले शनिबार राजीनामा दिएका थिए ।
मंसिर १५ गते सहमति मार्फत क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रयास गरिए पनि त्यसो हुन नसकेपछि तिवारीलाई अधिवेशन सम्पन्न गर्ने जिम्मा दिइएको थियो ।
यसैबीच, तिवारीले चुनावभन्दा पनि क्षेत्रीय सभापतिमा राघवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउनु पर्ने अडान राखेको तर विमलेन्द्र निधिनिकट नेताहरूले अस्वीकार गरेपछि तिवारी पक्षले टोले गुण्डा परिचालन गरेको कांग्रेस महोत्तरीका सचिव शम्भुनारायण पाठकको आरोप छ ।
यसैबीच, कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १४औं महाधिवेशन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर-३ को क्षेत्रीय कार्यसमितिलाई वितरण गरिएका सम्पूणर् प्रमाणपत्रहरू रद्द गरेको छ । निर्वाचन सम्बन्धमा समितिको बैठकले यस्तो निणर्य गरेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।
सचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्न निर्देशन समेत दिइएको छ ।




