जनकपुरधाम- प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक विदा दिएको छ ।
शुक्रवारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार मुख्य दिन वैवाहिक कार्यक्रम रहेको छ ।
प्रदेश सरकारको राजपत्रमा प्रकाशित सुचना अनुसार नै विवाहपञ्चमीको अवसरमा बुधवार सार्वजनिक विदा दिइएको हो । यसैबिच, जनकपुरधाम उपमहानगरपालिकाले समेत विवाहपञ्चमीको अवसरमा नगरभित्रका सरकारी तथा निजि विद्यालयमा तीन दिन सार्वजनिक विदा दिने निणर्य गरेको छ ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलवारदेखि बिहिवारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निणर्य भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए ।
आइतबार शाखा प्रमुख यादवले एक सूचना जारी गर्दै विवाहपञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिका भित्रका सामुदायिक, निजि विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ गते देखि २३ गतेसम्म बन्द गर्ने निणर्य गरिएको जनाएको छ।
शुक्रवारबाट सुरु भएको साता व्यापी विवाहपञ्चमी महोत्सव बिहिवार सम्पन्न हुँदैछ् ।
रामजानकी विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रवार जनकपुर नगरदर्शन गरिएको थियो भने शनिवार फुलवारी लिला सम्पन्न भएको र आज आइतवार धनुषयज्ञ हुन लागेको छ । त्यस्तै भोली सोमबार तिलकोत्सव, मंगलबार मटकोर, बुधबार शुभविवाह रहेको छ भने बिहिबार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।




