जनकपुरधाम- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश-२ को अधिवेशन औपचारिक रुप मै स्थगित भएको छ ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ का महाधिवेशन संयोक रमेश रिजालले आज सोमबार प्रदेश अधिवेशन स्थगित भएको जानकारी दिएका छन् । प्रदेश-२ को अधिवेशन अब महाधिवेशन पछि गरिने रिजालले जानकारी दिए ।
महाधिवेशन संयोक रमेश रिजालले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश अधिवेशन तत्कालको लागि स्थगित भएको घोषणा गरेका हुन् ।
प्रदेश-२ का केहि जिल्लाहरुमा विवाद कायमै रहेको देखिएपछि अधिवेशन स्थगित गरिएको नेता रिजालले जनाए ।
उनले भने, ‘प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरू छन् । जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरूको नामावली नै अहिले सम्म आउन सकेको छैन । सर्लाहीको धेरै वडामा अधिवेशन हुन बाँकी छ ।’
जिल्लाको निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली अझै प्राप्त हुन नसकेकाले पूर्वघोषित निर्वाचन तालिका अनुसार प्रक्रिया अगाडि बढाउन नसकिएको प्रदेश-२ का संयोजक रमेश रिजालले बताए ।
उनले भने, ‘निर्वाचन तालिकाअनुसार मंसिर १८ गते निर्वाचन गर्नुपर्नेमा त्यो हुन सकेन, मतदाता नामावली ३ जिल्लाबाट आउन सकेको छैन, त्यसैले प्रदेश अधिवेशन स्थगित गरिएको हो ।’
पार्टीको १४औं महाधिवेशन अन्तर्गत सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन बाँकी छ । यता सप्तरी क्षेत्र नम्बर-४ को क्षेत्रीय अधिवेशन पनि हुन सकेको छैन ।
त्यस्तै महोत्तरी क्षेत्र नम्बर-३ को सम्पूणर् परिणाम रद्द गरी पुनः निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिइसकेको छ भने रौतहटको सबै निर्वाचन सम्पन्न भइसक्दा समेत नामावली आउन बाँकी रहेको छ । धनुषाको कमला नगरपालिका वडा नम्बर-६ को वडा अधिवेशन पनि बाँकी रहेको छ ।
साथै जनकपुरधाममा रामजानकी विवाह महोत्सव प्रारम्भ भइसकेको र मूल समारोह मंसीर २२ गते रहेकाले अब मतदान प्रक्रियामा गाह्रो हुनेहुँदा मतदानको प्रक्रिया महाधिवेशनपछि धकेलिएको निर्वाचन समिति संयोजक रिजालले बताए।
यता प्रदेश सभापतिका लागि प्रदेश २ काँग्रेसका संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादव , रौतहटका सभापति कृष्ण यादव र नेता उम्मेदवारी घोषणा गरिसकेका छन् ।