धनुषा- प्रदेश २ को राजधानी जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीको अवसरमा नगरभित्रका सबै सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निणर्य गरेको छ।
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा आज मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्थाहरू बन्द गर्ने निणर्य भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए।
आइतबार शाखा प्रमुख यादवले एक सूचना जारी गर्दै विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिका भित्रका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरूलाई २१ मंसीरदेखि २३ मंसीरसम्म बन्द गर्ने निणर्य गरिएको जानकारी दिनुभएको थियो।
त्यसैगरी प्रदेश २ सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ। शुक्रबारदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत बुधवार मुख्य दिन वैवाहिक कार्यक्रम रहेको छ।
प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार नै विवाह पञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको हो।
रामजानकी विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रबार जनकपुर नगरदर्शन गरिएको थियो। शनिबार फूलबारी लीला सम्पन्न भएको र आइतबार धनुषयज्ञ, सोमबार तिलकोत्सव, आज मंगलबार मटकोर, भोलि बुधबार शुभविवाह कार्यक्रम रहेको छ। बिहीबार रामकलेवा भएसँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ।




