जनकपुरधाम। राम जानकी विवाहमहोत्सवको मुख्य दिन स्वयम्वर सम्पन्न भएको छ । बुधबार रंगभूमि मैदान (बाह्रविघा)मा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ ।
मेला, महोत्सव हेर्न जनकपुरधाममा लाखौंको भीड उर्लिएको छ । मेला भर्न नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन् ।
आज राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रमको आयोजना गरिएको हो ।
स्वयंबर हुनु अघि शोभायात्रा निकालिएको छ । जानकी मन्दिरबाट जानकीको तथा राम मन्दिरबाट रामको डोला (डोली) बाजागाजा सहित शोभायात्रा सुरु गरिएको थियो । नेपाली सेनाको सांगीतिक टोलीले मंगलध्वनी बजाउँदै शोभा यात्रामा सहभागी हुँदा हजारौं श्रद्धालुहरुले जयजयकार गर्दै थिए । शोभायात्रा निकाल्ने तयारी भइरहँदा हेलिकोप्टरबाट पुष्पवर्षा गरेर हर्षबढाई गरिएको थियो । सर्वसाधारणले सडक पेटी र आ–आफ्ना घरको कौसीबाट शोभायात्रा हेर्न झुम्मिएका थिए ।
शोभायात्राको भिड नियन्त्रण गर्न सुरक्षाकर्मी तथा स्वयंसेवकहरुलाई हम्मे हम्मे परेको थियो ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दासको नेतृत्वमा निस्केको जानकीको डोलासँग प्रदेश २ का पर्यट मन्त्री शत्रुघन महतो, संघीय सांसद राजेन्द्र महतो, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहित उच्च सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।
यसैगरी राम मन्दिरका महन्त राम गिरीको नेतृत्वमा निस्केको रामको डोलासँग पनि हजारौं श्रद्धालु सहभागी थिए । दुबै डोला बाह््रविघा रंगभूमि मैदान पुगेर स्वयंवरको आयोजना गरिएको थियो ।भने आज अबेर राति राम सीताको मिथिला विधि र परम्परा अनुसार विवाह हुने छ र भोली रामकलेवा भएसँगै विधिवत रुपमा विवाहपञ्चमी सम्पन्न हुनेछ ।
त्रेता युगमा राम जानकीको विवाह भएको अवसर पारी मंसिर शुक्ल पञ्चमीको दिन सीताको जन्मस्थल जनकपुरधाममा प्रत्येक वर्ष विशेष महोत्सव आयोजन हुँदै आएको छ ।