
काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ। ५७ जना नेताले केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिएका छन्।
आज बिहान ११ बजेसम्म निर्धारण गरिएको मनोनयनपत्र फिर्ताको समय डेढ घण्टा थप गरेर १ बजेसम्म कायम गरिएको थियो। सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै शेखर कोइरालालाई सहयोग गर्ने बताएका छन् भने सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध भएका छन् । । नयाँ नेतृत्व चयनका लागि सोमबार विहान ८ बजेदेखि राष्ट्रियसभा गृहमा मतदान हुनेछ ।