महोत्तरी।महोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी ६ लाख बढीको चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मङ्गलसूत्र, तिलहरीलगायत गरी रु छ लाख १७ हजार बराबरको धनमाल चोरेका छन् ।
चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी भ्रमरपुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रहरी टोलीले चोरी गर्नेहरूको खोजी गरिरहेको छ ।
महोत्तरीमा विगत दुई-तीन महिनादेखि चोरीको घटनामा निकै वृद्धि भएको छ ।रासस