जनकपुरधाम- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत् रहेको आरोप लगाएकी छिन्।
बुधबार जनकपुर पुगेकी मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत् रहेको आरोपी लगाईन् ।
मन्त्री झाक्रीले भनिन्, ‘ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउने तर्फ लागेको हो ।’
उनले संसद ओलीको अहंकारको शिकार बन्ने नबन्ने बारे बहस चलाउनुपर्ने आवश्यकता रहेको बताईन् । उनले भनिन्, ‘ओलीले आफूले गरेको संसद विघटनको सहित थियो भन्ने देखाउनको लागि संसद् चल्न नदिएका हुन् ।’
उनले सरकारले संसदमा विजनेश दिने र आवश्यक कानुन निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने उल्लेख गरे।
मन्त्री झाक्रीले भनिन् , ‘केपी ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गर्दै लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ नै उद्यत हुनुहुन्छ। त्यसकारण आज हामीले ७ दसक लडेर ल्याएको उपलब्धीलाई यस सरकारले त्यसै खेर जान दिने कुरा नै आउँदैन । सरकारले आवश्यक कानूनहरु निर्माण गर्नुपर्ने, आवश्यक नीति लिनुपर्ने ठाउँमा सरकारले आफ्नो स्टेप लिन्छ।’
मन्त्री झाँक्रीले एमाले पार्टी दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको आरोप लगाउँदै उनले एमालेको दशौँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि भएको बताईन् ।
उनले भनिन्, ‘कांग्रेसले गरेको लोकतान्त्रिक अभ्यास पनि गरेनन् केपी ओलीले आफ्नो व्यक्तिगत इच्छाले खल्तीबाट, पार्टीको सदस्य नै नभएका, पार्टीको सदस्य भएर पनि महाधिवेशन प्रतिनिधि हुने योग्यता नपुगेका मान्छेहरू धमाधम पार्टीको केन्द्रीय कमिटीमा मात्रै होइन, पदाधिकारीमा समेत, पोलिटव्युरोमा समेत भर्ती गरेर एकप्रकारले दक्षिणपन्थी विर्सजनवादी बाटोमा ओली नेतृत्वको पार्टी छ भनेर हामीले भन्दै गरेको कुरा उहाँहरुले आफै पुष्टि गर्नुभाछ।’
उनले एमाले निरन्तर ओरालो लागेको जिकिर गर्दै मन्त्री झाँक्रीले श्रमजिवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा(एकीकृत समाजवादी) भएको दाबी पनि गरिन्।
मन्त्री झाँक्रीले आजै प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा खोप भण्डारण गृह , प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश मेडिकल स्टोर भवनका शिलान्यास समेत गरेकी छिन्।