जनकपुरधाम- सिरहामा भएको सडक दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहान नगरपालिका वडा नं. ३ स्थित लहान–ठाडी सडकखण्डमा मोटरसाइकल र टिपर एक आपसमा ठाेक्किएर दुर्घटना हुँदा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको छ ।
सिरहाको लोकहा ठाडिबाट घरतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
सो दुर्घटनामा सप्तरीको बलान विहुल गाउँपालिका वडा नं. २ दिघियाका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक तपन दाहालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार दुर्घटनामा एक बच्चा घाइते छन् ।
ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।




