जनकपुरधाम - सिरहामा छुरा प्रहार घटनाको क्रममा एक युवकको मृत्यु भएपछि स्थानीयले आज बिहानैदेखि गोलबजारमा सडक अवरुद्ध गर्दै गरेको चक्काजाम खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहकाका प्रवक्ता डीएसपी सुभाषा बुढाथोकीले जनाए अनुसार दोषीलाई पक्राउ गरी २४ घण्टाभित्र कारबाही चलाउने, मृतकलाई क्षतिपुर्तिको लागि पहल गर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रहरी र स्थानीयबीच सहमति पश्चात ४ बजे देखि राजमार्ग खुलेको हो।
शनिबार राति घर जाने क्रममा गोलबजार नगरपालिका-६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि अपरिचित युवाहरूको समूहले छुरा प्रहार गरेका थिए। छातीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ। घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ।
दोषीको पहिचान भइसकेको छ । तिनीहरुलाई पक्राउ गरिसकेपछि मात्र परिचय खुलाउँछौ डीएसपी बुढाथोकीले भने । घटनाको विरोधमा डोहटियाका बासिन्दाले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग बन्द गराउँदै प्रदर्शन गरेका थिए । बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा सयौ सवारीसाधनका हजारौं यात्रीहरुको जाडोमा विजोग भएको थियो ।