जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएपछि आजलाई निर्धारण गरिएको मतदान स्थगित गरिएको छ ।
निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले दिएको जानकारी अनुसार मतदानको विषयलाई लिएर विवाद भएपछि आज लागि निर्वाचन कार्यक्रम स्थगित गर्दै भोली विहिवार विहान ८ बजेदेखि मतदान हुने छ ।
सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच मतदानको विषयलाई लिएर विवाद उत्पन्न भई झडप नै भएको छ।जनकपुरधाम स्थित अधिवेशन स्थल गोपाल धर्मशालामामा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र शेखर कोइरला- विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद उत्पन्न भएको थियो ।
दुबै पक्षको विवादले उग्र लिंदै झडप हुँदा केही कार्यकर्ताहरु घाइते भएका छन् । निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो तर दुई पक्षबीचको विवादको कारण बुधबारका लागि निर्वाचन कार्यक्रम स्थगित भएको र अब बिहीबार विहान ८ बजे देखि मतदान हुने निर्वाचन समितिका संयोजक गौतमले जानकारी दिए ।