जनकपुरधाम- नेपाली कांग्रेसको प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पदाधिकारीको मतगणना सम्पन्न भएपनि विवाद समाधान भएको छैन ।
महामन्त्री पदमा संस्थापन इतर समूह (निधि-कोइराला समूह)का नरेश यादवले निर्वांचन समितिले एक पटक आफुलाई विजयी घोषणा गरेर पुनः नियोजित तरिकाले पछाडि पारेर उनका निकटतम प्रतिद्वन्द्वी बृहस्पतिकृष्ण श्रेष्ठलाई विजयी घोषणा गरेको आरोप लगाएको छ ।
नरेश यादवले आज नेपाली काँग्रेसको पार्टी कार्यालय जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन समितिले आफूलाई षडयन्त्र पूर्वक हराएको आरोप लगाएका छन् ।
बृहस्पतिलाई निर्वाचन समितिले विजयी घोषणा गरेर प्रमाणपत्र दिई सकेको अवस्थामा नरेशले परिणाम अस्वीकार गरेपछि विवाद उत्पन्न भएको छ।
नरेशका अनुसार उनी ७ सय २४ मतका साथ दोस्रो स्थान ल्याएर विजयी भएका थिए भने बृहस्पतिले मात्रै ७ सय २१ मत ल्याएका थिए ।
नरेशलाई पराजित भएको घोषणा भई सकेपछि निर्वाचन समितिले उनलाई विजयी घोषणा गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भई रहेको छ । जबकि निर्वाचन समितिले एक कोठाको मत जोड्न नपाउँदै नरेशलाई विजयी घोषणा गरिएको र त्यो आफूहरुबाट त्रुटी भएको स्वीकार गरि सकेको छ ।
निर्वाचन समितिका अनुसार महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी विजयी भएका छन् भने नरेशले ७७५ मत प्राप्त गरेका छन् ।
यता नरेशले ३ वटै कोठाको मत जोडेर मात्रै आफूलाई विजयी घोषणा गरिएको दावी गर्दै भने ‘म विजयी भएको छु, आफूलाई विजयी भएको प्रमाणपत्र निर्वाचन समितिले दिनु पर्छ ।’