जनकपुरधाम- प्रदेश २ सरकारले ल्याएको प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ बहुमतले स्वीकृत भएको छ ।
प्रदेश २ को आज आइतबार बसेको प्रदेशसभा बैठकबाट ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत गरेको हो।



प्रदेश सभाको आठौं अधिवेशनको चौथो बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको सभामुख सरोज कुमार यादवले घोषणा गरेका हुन् ।
लोसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले उक्त अध्यादेश अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए तर साहले प्रस्ताव फिर्ता नलिएपछि अध्यादेशलाई बहुमतले स्वीकृत गरिएको हो ।
केही साताअघि प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशमध्ये ‘प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८’ प्रदेशसभामा स्वीकृत भएपछि सरकारले आइतबार अर्को अध्यादेश पेश गरेको हो । अहिले सो कृषि विश्व विद्यालयको उपकुलपति पनि नियुक्त गरिसकेको छ ।
समाजिक विकास मन्त्री साहले विधेयकको रूपमा आउँदा समय लाग्ने भएकाले सरकारले अध्यादेश ल्याएको बताए ।
प्रमुख प्रतिपक्षि दल लोसपा र नेकपा एमालेले अध्यादेशको विरोध गरेका थिए भने सत्तारूढ दल जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रस्तावको पक्षमा सर्मथन जनाएका थिए ।
यसअघि प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा सरकारले कृषि विश्वविद्यालय राजविराज स्थापना सम्बन्धी अध्यादेश पनि बहुमतले पास गरेको थियो ।
प्रदेशमा प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्राविधिक शिक्षा प्रदान गरेर प्रदेश तथा देशको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगंजमा प्राविधिक विश्व विद्यालय स्थापना गरेर सञ्चालन गर्नका लागि प्रदेश सरकारले अध्यादेश मार्फत विधेयक ल्याएको थियो ।
अध्यादेश पारित गरेपछि स्वतः कानून बन्ने कानूनी व्यवस्था भएकाले प्रदेश सरकारलाई प्राविधिक विश्वविद्यालय स्थापनाका अन्य कामकाज गर्नका लागि बाटो खुलेको छ ।
प्राविधिक विश्व विद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभाका सदस्यहरू अभिराम शर्मा, रानी तिवारी, नेकपा एमालेका प्रमुख सचेतक किशोरी साह कमल सहितका प्रदेश सभाका सदस्यहरूले यस्ता सकारात्मक विधेयक चोर बाटोबाट ल्याएकोमा विरोध गर्दै खारेजको माग गरेका थिए । यसले प्रदेश सभाको अधिकार सङ्कुचित गर्ने काम भएको पनि उनिहरुले बताए थिए।
यसै गरी सत्ता पक्षका प्रदेश सभाका सदस्यहरू ज्ञानेन्द्र कुमार यादव, रामअशिष यादव, सुरेश मण्डल, मञ्जु यादव सहितले प्राविधिक विश्व विद्यालय प्रदेश तथा देशका लागि आवश्यक भएकाले अध्यादेश पारित गर्नु पर्ने आवश्यकतामा जोड दिएका थिए।




