जनकपुरधाम- भारी मात्रामा लागुऔषध सहित सप्तरीबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कंचनरुप नगरपालिका–८ का ३६ वर्षीय संजय भुजेल र बोदेबरसाईन नगरपालिका–५ जाँजरका २१ वर्षीय मो.अब्दुल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुवैजनालाई छुट्टा–छुट्टै स्थानबाट शुक्रवार नै पक्राउ गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए । तिनीहरुबाट नाइट्रोभेट ट्याब्लेट ७० पत्तामा २ हजार १ सय पिस ट्याबलेट, एसपीएम प्रोक्सीभोन क्यापसुल २ सय ८८ थान, डाइलेक्स डिसी १०० एमएलको ३ सय ९९ बोतल बरामद गरिएको हो ।
शुक्रवार राजबिराजको रात्री बसबाट ठुलो परिमाणमा लागु औषध काठमाण्डौ तर्फ ओसार पसार गर्दै छ भन्ने सूचनाको आधारमा प्रहरी टोलीले चेकजाँच गर्दै जाँदा राजबिराज–२ स्थित हिमालय राईस मिल गुलाब ग्यारेज अगाडी ना.८ ख.५८३७ नम्बरको बिशाल मेट्रो नाम गरेको बस पार्कीङ गरी राखेको अवस्थामा खानतलासी गर्दा लागु औषध बरामद भएको थियो ।
लागुऔषध बरामद भएपछि प्रहरीले बसको सहचालक भुजेललाई नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा मो.अब्दुलले अटो रिक्सामा लागुऔषध लोड गरी ल्याएको खुलेको थियो । मो. अब्दुललाई नियन्त्रणमा लिँदा थप डाइलेक्स डिसीको बोतल बरामद गरेका थिए ।
दुवै जनालाई जिल्ला अदालतबाट म्याद लिई घटनाको सम्बन्धमा थप अनुसन्धान थालेको प्रवक्ता काफ्लेले जानकारी दिए ।a