सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा एक महिला मृत भेटिएकी छिन् ।
घरबाट खरानी लिएर खेतमा फाल्न गएकी ५२ वर्षीया भुटनिदेवी यादवको हत्या भएको हो । हिजो बेलुका घरबाट गहुँ खेतमा खरानी फाल्न गएकी यादव राति अबेरसम्म नफर्किए पछि उनको खोजी गरिएको थियो ।
आज बिहान उनको शव हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीयहरुले भुटनिको टाउकोमा बियरको बोतलले हानेर हत्या गरेको हुन सक्ने अनुमान गरेका छन् । घटना स्थलमा तीन वटा बियरको बोतल मध्ये दुईवटा फुटेको र एउटा फालिएको अवस्थामा फेला परेको छ । भुटनिलाई हत्याराहरुले लछार पछार गरि उनले लगाएको नाकको फुल सहित अन्य गरगहना पनि लुटेको पिडितका परिवारजनले जनाएका छन् । भुटनी दुध बेचेर गुजारा गर्दै आइरहेकी थिइन् । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले घटना कसले र किन गरेको खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए । यस अघि छिन्नमस्ता गाउँपालिकामा २ जना व्यक्तिको घाँटी रेटी हत्या भएको छ । यो भन्दा पहिला छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीको एक जना वृद्धको घाँटी रेटी हत्या गरिएको थियो। पछिल्लो घटनाको सुक्ष्म अनुसन्धान गरी हत्याराहरुलाई पक्राउ गर्न नसकेको कारण हत्याराहरुको मनोबल झन बढदै गएको देखिन्छ। हत्याराहरुले दिनदहाडै खुल्लेआम घाँटी रेटेर हत्या गरिरहेका छन। यता नेपाल प्रहरीले छिट्टै अनुसन्धान गरी दुबै घटनाको दोषीहरुलाई हत्याराहरुलाई कार्यवाही गर्नुपर्ने तथा सप्तरीको सुरक्षा वयवस्था कडा गर्नुपर्ने स्थानीयबासिहरुले माग गरेका छन ।