जनकपुरधाम- सिरहामा दुई दिनका लागि गरिएको निषेधाज्ञा हटाइएको छ। आज र भोलिका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो। साथै प्रशासनले सीके राउतको जनमत पार्टीका १८ जना नेता तथा कार्यकर्तालाई पनि रिहा गरेको छ।
प्रहरीले किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले आन्दोलन थालेपछि लगाइएको निषेधाज्ञा आज हटाइएको छ । आज देखि नै लगाइएको निषेधाज्ञालाई हटाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिएका छन् ।
प्रजिअ कवारीले जिल्लाको पूर्वमा बलान खोला देखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासका क्षेत्रसम्म र चोहर्वा देखि सिरहा सडक खण्डको पि.के.राज इन्टरप्राइजेज(पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५ सय मिटर पूर्व पश्चिम आसपासका क्षेत्रमा लगाइएको निषेधाज्ञालाई हटाइएको जानकारी दिए ।
औरही गाउँपालिकाले वितरण गर्नका लागि राखेको गहुँको विउ वितरणमा ढिलाई गरेपछि किसानहरुले बिउ लुटेर लगेका थिए । सोही घटनामा प्रहरीले मिथिलेश यादवमाथि मुद्दा दर्ता गरेका थिए । आज जिल्ला अदालत सिरहाले यादवलाई साधारण तारिखमा रिहा गरेको छ ।
प्रशासनले जारी गरेको निषेधाज्ञालाई जनमत पार्टीका कार्यकताहरूले उल्लंघ गरेका हुन्। उनीहरूले आज पनि सडक अवरुद्ध पारेका थिए। प्रहरी भने आज राजमार्ग खुलाउने प्रयासरत थियो।
पुस ६ गते जिल्लाको औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीऊ किसानले लगेका थिए । उक्त घटनामा गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवको जाहेरीले प्रहरीले कारी भन्ने मिथिलेश यादवलाई नियन्त्रणमा लिएको थियो ।
यादव पक्राउ परेको विषयलाई लिएर जनमत पार्टीले मसाल जुलुस, आम हड्ताल चक्काजामजस्ता विरोध प्रदर्शन गरेको थियो । त्यसपछि प्रदर्शनमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकालाई रिहा गर्न सिरहाका दलहरुको माग
पक्राउ परेकालाई रिहा गर्न सिरहाका दलहरुको माग गरेका थिए । कांग्रेसका रामचन्द्र यादव, एमालेका सरोजकुमार यादव, माओवादी केन्द्रका ठकु महतो, एकीकृत समाजवादीका रवीन्द्र साह, जसपाका बिन्दुकुमार मण्डल र लोसपाका सर्वनारायण झाले विज्ञप्ति जारी गर्दै हरीले घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएका सबैलाई थुनामुक्त गरी निषेधाज्ञा फिर्ता लिन पनि दलहरुले माग गरेका छन् ।
जारी गरेको विज्ञप्तिमा , ‘मागलाई सम्बोधन गरी जिल्लाको प्रतिकुल अवस्थालाई सामान्यकरण गर्न प्रशासनसँग सहकार्य र समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ उल्लेख गरिएको छ ।
गहुँको बीऊ वितरण गर्ने क्रममा उत्पन्न समस्या वार्ता र संवाद तथा सर्वदलीय सहमति कायम गरी समस्या समाधान गर्नुपर्नेमा कुनै विधि र प्रक्रिया अबलम्बन नगरेको र जनमत पार्टीले केही कार्यकर्ताको उक्साहटमा बन्द हड्ताल र चक्काजाम घोषणा गर्दै उच्छृङ्खल गतिविधि गरी जिल्लाको शान्ति सुरक्षामा प्रतिकुल असर पारेको विज्ञप्ती मार्फत जनाइएको छ।
राजनीतिक नाममा अपराधिक गतिविधि भइरहेकोप्रति समेत ध्यानाकर्षण भएको भन्दै समग्र जिल्लाको शान्ति सुरक्षा कायम राख्न दलहरु सदैव तत्पर रहेको विज्ञप्ति मार्फत जनाइएको छ ।