ढल्केवर, धनुषा
धनुषाको मिथिला ताल (पोखरिया) मा अँग्रेजी नयाँ साल २०२२ अर्थात १ जनवरी ( पुस १७ गते शनिबार) का दिन आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राख्दै वृहत सरसफाइ लगायतका कार्य भएको छ ।
प्रदेश २ कै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको यस ठाउँमा पोखरिया पर्यटन समितिले पिकनिकस्थल, पर्याप्त खानेपानीको, ताल सौन्र्यकरण, तालकोबीच भागमा रहेको मन्दिरको रङ्गरोगनलगायत शान्ति सुरक्षाको व्यवस्था मिलाएको छ ।
पोखरिया पर्यटन समितिका अध्यक्ष मनोज बस्नेतले अधिल्लो अँग्रेजी नयाँ वर्षको तुलनामा यसवर्ष अधिक पर्यटक आउने बताए । उनले अधिल्लो वर्ष झण्डै ५० हजार पर्यटक यहाँ आएको अनुमान गरिएको बताउँदै यस वर्षको नयाँ सालमा आउने पर्यटकको सुविधाका लागि समितिका सम्पूर्ण पदाधिकारी र सुरक्षा गार्ड खटाउने बताए ।केहि वर्ष यता आन्तिरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दैआएको छ ।
ढल्केवरबाट तीन किलोमिटर उत्तर पोखरिया सामुदायिक वनभित्र पर्ने यस पर्यटकीय स्थलमा पुग्न ढल्केवरस्थित इलाका प्रहरी कार्यालयको पश्चिम ढलान सडक र खानेपानी टंकीदेखि पश्चिमको ढलान सडक भएर जान सकिन्छ ।