जनकपुरधाम- धनुषामा लोकसेवा आयोगको र नेपाल रेल्वे कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एकजना युवकलार्ई प्रहरीले पक्राउ गरेको छ ।
आफुलाई लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भन्दै विभिन्न नक्कली कागजातहरु देखाई स्थानीय मानिसहरुसंग ठगी गर्ने महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौली बस्ने ३२ वर्षीय सागर कान्त चौधरीलाई पक्राउ गरिएको हो।
धनुषा प्रहरीले गत आईतबार जनकपुरधाम उप महानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटल अगाडीबाट चौधरीलाई पक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जनाए ।
चौधरीको साथबाट लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना , नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक्ति पत्र पाना, संतोष राय कै नामको शपथ ग्रहण पाना, लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड लेखिएको पत्र पाना, नेपाल रेल्वे कम्पनी लिमिटेड शंकर यादवको नामको नियुक्ति पत्र पाना, शंकर यादव कै नामको सपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैंक लि.को राजेश कापरको नाउको दस्तखत भएको खाली चेक २ वटा, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप लगायतका कागजात र समानहरु फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ परेको चौधरीले आफूले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजातहरु तयार गरी स्थानिय मानिसहरुलाई ठगी गर्न भनि आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनि नक्कली नियुक्ति पत्र तयार गरी बाँडेको स्वीकारेका छन् ।
चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान हुँदै गरेको धनुषा प्रहरीले जनाएको छ ।