जनकपुरधाम- फेसबुक मेसेन्जर ग्रुपमा आवद्ध “जनकपुरियन लेडिज ग्रुप”द्वारा जनकपुरधाम वडा नं.७ स्थित जमिरिया देवी आश्रममा कुष्ट रोग प्रभावित ११ घर परिवारलाई विहिवार खाधान्न तथा न्यानो कपडा वितरण कार्यक्रम गरिएको छ ।




कार्यक्रममा आश्रममा रहेका घरपरिवार तथा वालवालिकाहरुलाई ११ थान सल, ४० थान टोपी, ४० थान मोजा, १० किलो च्युरा, १० किलो भुजा, २ कार्टुन बिस्कुट, २४ थान डेटोल साबुन, ७ कार्टुन चाउचाउ, फलफुल र २०० किलो चामल वितरण गरिएकाे हो ।

उक्त आश्रममा रहेका करिव २० वालवालिहरु अहिले पनि शिक्षाबाट बन्चित रहेको प्रति जनकपुरीयन लेडिज ग्रुपले दु:ख व्यक्त गर्दै उनीहरुलाई शिक्षाबाट बन्चित हुन नदिन ग्रुपमा आवद्ध महिला सदस्यहरुले नि:शुल्क ट्युसन पढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा जनकपुरधाम वडा नं.७ का अध्यक्ष जानकी राम साहको प्रमुख अतित्थ्यतामा र कामख्या परिवार जनकपुरधामका अध्यक्ष विभास लाभको विशिष्ट अतित्थ्यतामा आयोजना गरेको खाधान्न सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि साहले आफ्नो वडामा “जनकपुरीयन लेडीज ग्रुप”ले गरेको कार्यक्रम प्रति आभार प्रकट गर्दै आफु स्वयं कुष्टरोगी परिवारको समस्या प्रति सधै तत्पर रहेको र आगामी दिनमा पनि सधै तत्पर रहने प्रतिवद्धता जाहेर गरेका छन्।

जनकपुरीयन लेडीज ग्रुपमा आवद्ध महिलाहरु विभिन्न पेशा, व्यवसाय, सामाजिक अभियन्ता एवं समाजसेवीको ग्रुप हो । यो ग्रुप हाल आधिकारीक नभए पनि समाजिक संजालको माध्यमबाट मेसेन्जर ग्रुपमा आवद्ध रहेर सामाजिक कार्य गर्न तत्पर रहेको र आगामी दिनमा बैधानिकताका साथ यस्ता सामाजिक कार्य गर्ने जनाएको छ ।

कार्यक्रममा जनकपुरीयन लेडिज ग्रुपमा आवद्ध रिङ्कु गायत्री मिश्र, रुपा कर्ण, माला राय, रंजना यादव, दिपिका कार्की, रिता मण्डल, आरति मण्डल, निभा झा, चादनि झा, वरुणा कर्ण, अनिता विश्वास विक्रम, अस्मिता पन्त, मधु साह लगायतका सदस्यहरुको सहभागिताको साथै पत्रकारहरु सन्तोष कर्ण, घनश्याम मिश्र एवं जनकपुरधामका व्यवसायी, युवा एवं बुद्धिजिविहरुको सहभागिता रहेको थियो ।





