जनकपुरधाम- बहुप्रतिक्षित र पटक पटक मिति तय भएर पनि संचालन हुन नसकेको देशको एक मात्र जनकपुर- जयनगर रेल सेवा संचालनको तयारी थालिएको छ।
रेल संचालनको लागि आज धनुषाको इनर्वा स्टेशनमा १५ महिना देखि थन्क्याएर राखिएको नेपाली रेलको सफल परिक्षण गरिएको छ ।
भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनबाट २०७७ असोज २ मै ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरी धनुषाको इनर्वा स्टेसनमा विगत १५ महिनादेखि थन्क्याइ राखिएको थियो ।
खरिद गरेर ल्याए पश्चात त्रिपालमुनी छोपेर राखिएको रेलको आज पूनः परिक्षण गरिएको छ । रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म रेल परिक्षणका लागि कुदाइएको रेल्वेका अधिकारीहरुले जनाएका छन् ।
इनर्वा स्टेशनबाट रेल चलाएर ल्याएका भारतीय चालक बिएन राय र पिटर साहबले रेल संचालनमा समस्या रहेको बताए । उनले रेलको अवस्था अहिले सम्म राम्रो नै रहेको बताए । उनले भने, ‘रेलमा अहिले सम्म कुनै समस्या आएको छैन्, राम्रो संग रन भईरहेको छ । उनका अनुसार रेल अत्याधुनिक भएकोले कुदाउनको लागि समस्या छैन तर सर्वसाधारणको चापले समस्या हुने रहेछ । तर रेल फुल स्पिडमा कुदाउनु पूर्व यस क्षेत्रमा केहि दिन सर्वसाधारणलाई सुचना प्रवाह गर्नु पर्ने आवश्यक्ता रहेको छ । ट्रयाकमा मान्छेहरु आई दिंदा खतरा हुन सक्छ।’
जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल्वे लिकमा आज रेल संचालन गरेर परिक्षण गरिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।
उनले नेपाली रेलको ट्रयाक निर्माण भएपनि रेल नगुडेपछि रेल गुड्ने नगुड्ने आशंका बिच तयारी स्वरुप परिक्षण गरिएको बताए ।
नेपाल रेल्वेका महाप्रबन्धक झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूणर् तयारी पूरा भई सकेको र फेब्रुअरी १० तारिख भित्रै रेल संचालन गर्ने तयारी रहेको भन्दै उनले भने, ‘रेलको इन्जिनको अवस्था, रेल्वे ट्रयाकको अवस्था आदि परिक्षणका लागि आज रेल गुडाइएको हो ।
उनले सञ्चालन मिति भने राजनीतिक स्तरबाटै तय हुने र रेल दुबै देशको प्रधानमन्त्रीले उदघाटन गर्ने भएकोले केहि ढिला भईरहेको बताए ।
प्रबन्धक झाका अनुसार अहिले न्यूनतम आवश्यकताका आधारमा ६० जना कर्मचारी नियुक्त गरी रेल चलाउने तयारी रहेको छ। उनले नियुक्त कर्मचारीका लागि यहि सोमबारदेखि तालिम सञ्चालन गर्ने र त्यसपछि उनीहरूलाई काममा परिचालन गरिने बताए। त्यसका लागि भारतीय पक्षबाटे १४ कर्मचारी आइसकेको जानकारी दिए।
प्रबन्धक झाले संचालन भएको केहि दिन दैनिक एकपटक आउजाउ गर्नेगरी रेल चलाउने तयारी भइरहेको र दुई साता जति संचालन भएपछि यात्रुको चाप र आवश्यकता हेरेर दैनिक २ देखि ३ पटकसम्म रेल सेवा संचालन गर्न सकिने बताए।
उनले यस बीच भारतको जयनगर देखि जनकपुरधामको कुर्था सम्म सञ्चालन हुने रेल्वे ट्रयाकको करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको बताए ।
प्रहरी वा रेल्वेका कर्मचारीले चाहेर मात्रै रेलको सम्पती संरक्षण हुन नसक्ने भन्दै उनले भने, ‘चोरी भएका क्लिप पुनः भारतीय पक्षले लगाइ दिने कुरा भएको छ ।
सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर-विजलपुर-बर्दिवास रेल सेवा सञ्चालनका लागि सहमति भएको थियो । तर पहिलो चरणमा कुर्था-जयनगरसम्म मात्रै रेल सेवा सञ्चालनको तयारी भए पनि अझै सुरु हुन सकेको छैन ।
[embed]https://youtu.be/X5EcqOasO0w[/embed]भिडियो सौजन्य नेपालभ्युज




