जनकपुरधाम- प्रदेश २ को राजधानी पर्साको महानगरपालिका वीरगन्जमा कायम गर्नु पर्ने माग गर्दै खबरदारी जुलुस प्रदर्शन गरिएको छ।
प्रदेश २ को राजधानी र प्रदेशको नामाकरण बारे अहिले सदनमा छलफल चलिरहेको बेला आज राजधानी विरगंज बनाउनु पर्ने माग सहित विगरंजमा प्रदर्शन गरिएको छ।
प्रदेशको नाम मधेश प्रदेश, मध्य मधेश प्रदेश, मिथिला, जानकी र भोजपुरा राख्नु पर्ने भन्दै यति बेला सदनमा छलफल चलिरहेको छ।
नाम र राजधानीका विषयमा सुझाव दिन प्रदेश २ का सभामुख सरोजकुमार यादवको नेतृत्वमा बनेको समितिले प्रदेश सभासदहरूसँग छलफल गरिरहेको छ।
नाम र राजधानी बारे सदनमा बहस र छलफल चलिरहेको बेला बिरगंजमा लोकतान्त्रिक समाजवादीका नेता कार्यकर्ताहरुको सहभागीता खबरदारी जुलुस प्रदर्शन गरिएको छ।
विरगंजको आदर्शनगरबाट सुरु खबरदारी जुलुस नगरपरिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। जुलुसमा सहभागीहरुले प्रदेश २ का मुख्यमन्त्री लालाबु राउतको गृहनगर समेत रहेको वीरगन्जमा ‘मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइदैन’ भन्दै मुख्य नारा लगाएका थिए ।
जुलुसमा प्रदेश २ का प्रदेशसभा सदस्य प्रहलाद गिरीको पनि सहभागिता थियो। उनी पनि राजधानीको लागि जनकपुरधाम नभई विरगंज हुनुपर्ने अडान राख्दै विगतदेखि विरोध आउँदै आएका छन्।
विगतका मधेश आन्दोलनमा मधेशवादी दलका नेताहरुले वीरगन्ज राजधानी हुने बताउँदै आएको र अहिले आएर आफ्नो प्रतिबद्धताबाट पछि हटेको र वीरगन्जलाई उपेक्षा गरेको वीरगन्जवासीको आरोप छ।