ढल्केवर, धनुषा
धनुषामा दुई वर्षअधि टिपरले किचेर हत्या गरिएका पर्यावरण तथा चुरे संरक्षणका अभियन्ता ओमप्रकाश महतो दिलिपको दोस्रो स्मृति दिवस मनाइएको छ ।
धनुषाको ढल्केवरमा आइतबार ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी पर्यावरण अभियन्ता स्वर्गीय दिलिपको दोस्रो स्मृति दिवस मनाएको हो ।
स्मृति दिवसका अवसरमा प्रदेश २ सरकारका उघोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महताले स्वर्गीय दिलिपले पर्यावरण संरक्षणका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे । पर्यावरण संरक्षणकै अभियानमा सहादत भएका स्वर्गीय दिलिपको सपना साकार पार्न सबैजना चुरे संरक्षण सम्बद्र्धनका कार्य जुट्नुपर्ने उनले जनाए ।
मन्त्री महतोले चुरे संरक्षणमा स्थानीय नागरिकको सहभागिता र तीनै तहका सरकारबीच समन्वय आवश्यक भएको पनि जनाए । मन्त्री महतो स्वर्गीय दिलिपको नाउँमा औरही बाबास्थित रहेको ओमप्रकाश स्मृति वाटिकामा वृक्षरोपण समेत गरेका थिए । सो वाटिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न डिपिआर तयारीको कार्य अगाडि बढाएको जानकारी दिए ।
कार्यक्रममा मन्त्री महतालगायत कार्यक्रममा उपसिथत सबैले स्वर्गीय दिलिपको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रतिष्ठानकी अध्यक्ष सँगमकुमारी महतोको अध्यक्षतामा आयोजित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश २ वन निर्देशनालयका महासचिव सुरेश शर्मा, मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डल, सव डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुनिलकुमार कर्ण, नेकपा माओवादीका नेता रामकुमार महतोलगायतका वक्ताहरुले चुरे संरक्षणमा जोड दिएका थिए ।
२०७६ पौष २५ गते खोलाको अबैध उत्खन्न रोक्न गएका धनुषा मिथिला नगरपालिका–५ श्रीपुरका २४ बर्षीय दिलिप(ओमप्रकाश) महतोको क्रसर डनले हत्या गरेका थिए । दिलीपलाई कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको थियो ।