बर्दिबास । शिफ्ट अभियानअन्तर्गत युवा अभियन्ताहरुले शुक्रबार बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गर्नुभएको छ ।
बर्दिबास नगरपालिका वडा नम्बर ९ स्थित श्री दुर्गा मावि पथलैयामा आयोजित कार्यक्रममा अभियन्ताहरुले सहभागी विद्यार्थीहरुमाझ बालविवाह र यसका असरहरु बारे बताउँदै बालविवाह बालबालिकाविरुद्धको हिंसा भएकोले बालविवाह हुन नदिन अभियानमा सक्रिय रूपले लाग्न र यसमा प्रतिबद्ध जनाउन आव्हान गर्नुभयो । शिफ्ट अभियन्ता प्रतिमा पौडेलले भन्नुभयो "बालविवाह एक सामाजिक मात्र नभई कानूनी अपराध पनि हो । त्यसैले बालविवाहविरुद्धको अभियानमा सबैले सहभागी हुन आवश्यक छ।”

अभियान बर्दिबासस्थित युवा अभियन्ताहरूको समूह युथ फर चेन्ज ले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको हो।अभियानले मधेश प्रदेशमा बालविवाह अन्त्य गर्नको लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ। सेभ द चिल्ड्रेनद्वारा सञ्चालित शिफ्ट अभियानले युवाहरूलाई सामाजिक वा वातावरणीय परिवर्तनका लागि सार्वजनिक अभियान डिजाइन र सञ्चालन गर्न सहयोग गर्दछ।
नेपालमा हाल छोराछोरी दुवैका लागि कानुनी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकिएको छ । ‘
विसं २०७८ को राष्ट्रिय जनगणनाले १० देखि १७ वर्ष उमेर समूहका ७४,२७२ बालबालिकाको विवाह भइसकेको देखाएको छ । जसमध्ये १६,३४७ बालविवाहका घटना मधेश प्रदेशका देखिएका थिए, जुन राष्ट्रिय कुलको पाँच भागको एक भन्दा धेरै हो । यो अवस्था गम्भीर छ । मधेशमा ४२.४ प्रतिशत महिलाहरू १८ वर्षभन्दा अघि नै विवाह गर्छन्, जबकि राष्ट्रिय औसत ३३ प्रतिशत मात्र छ । महोत्तरीमा यो दर ४३.३ प्रतिशत पुगेको छ । तथ्याङ्कअनुसार, मधेशमा हरेक पाँचमध्ये एक किशोरीले किशोरावस्थामै गर्भधारण गर्ने गर्छन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ मा कसैले पनि बालविवाह गर्न नहुने व्यवस्था छ । यसमा २० वर्ष उमेर नपुगी विवाह गर्न नमिल्ने कानुनी व्यवस्था छ । बालबालिकासम्बन्धी ऐन, २०७५ मा बालविवाहलाई बालबालिकाविरुद्धको कसुर तथा हिंसा मानी यस्तो विवाह गर्ने गराउनेलाई ३ वर्षसम्म कैद र ७५ हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
कार्यक्रममा सहभागीले बालविवाहलाई समाजको ठूलो अपराधका रूपमा चित्रण गर्दै यसको नकारात्मक प्रभावबारे जागरुकता फैलाउने बताउँदै अभियानमा सहभागी सबैले बालविवाहको विरुद्ध एक्यबद्धता व्यक्त गर्नुभयो ।




