जनकपुरधाम- बहुप्रतिक्षित जयनगर जनकपुर रेल सेवा संचालनको बल्ल सुरसार हुन थालेको बेला सञ्चालन नहुँदै विवादमा तानिएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेड अन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका १५१ जना कर्मचारीलाई बिना कुनै जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पूरानाहरु आन्दोलित भएका छन् ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पूराना कर्मचारीलाई हटाएर नयाँ ५५ जनालाई नियूक्त गरी आजदेखि जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरुले तालिमस्थल जनकपुरधाम स्थित मत्सत्य विकास केन्द्र मै गएर विरोध जनाउँर्दै प्रदर्शन गरेका छन्।
नेपाल रेल्वेलाई कानूनी तथा प्राविधिक कारण देखाइ नेपाल रेल्वे कम्पनीका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईले ज्यालादारीमा काममा खटाउने भनि नियुक्त गरेका १५१ जना कर्मचारीलाई बिना कुनै जानकारी हालका महाप्रबन्धक झाले हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पूरानाहरु आन्दोलनमा उत्रिएका छन् पुराना कर्मचारीहरुले उनिहरुलाई पूनः समायोजन गर्न माग गरेका छन् ।
पुराना कर्मचारी मध्येका सहायक स्टेशन मास्टरको तालिम लिएका इन्द्रजित गोइतले बिना कुनै जानकारी आफूहरुलाई नवनियूक्त महाप्रबन्धक झाले हटाएर आफ्नो अनुकूलका नयाँ कार्यकर्ताहरुलाई नियूक्त गरी तालिम दिन लागेको आरोप लगाए। उनले गोप्यरुपमा तालिम दिएर आफ्ना नजिकका व्यक्तिहरुलाई राखे आफूहरु कडा आन्दोलनमा उत्र्ने चेतावनी दिए । उनले भने, ‘हामीहरुले एक महिनाको तालिम लिएको र आफूहरुको भुक्तानी समेत बाँकी रहेका छ।।’
त्यसैगरी पूराना कर्मचारीमध्येका सतिश ठाकुरले १५१ जना पूराना कर्मचारीले तालिम लिइसकेकोले आफूहरुलाई समायोजन गर्नुपर्ने माग गरे ।
त्यस्तै, २०५८ सालदेखि नै सहायक स्टेशन मास्टर पदमा कार्यरत रहेका मञ्जय कुमार गोइतले पूराना जनशक्तिलाई हटाएर नयाँलाई नियूक्त गरी तालिम सञ्चालन गरिनु गलत भएकोले आफूहरुले महाप्रबन्धक झाको मनोमानीको विरोध जनाएको बताए। उनले पूरानो तालिममा सरकारको लाखौं रुपैयाँ खर्च भएको बताउँदै उनले पूराना कर्मचारीलाई समायोजन गरी व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
कानूनले दिएको अधिकार प्रयोग गरेर मात्रै आफूले नयाँ कर्मचारी नियूक्त गरेको : महाप्रबन्धक झा
यता महाप्रबन्धक झाले भारत स्थित केआरसिएल कम्पनीका ट्रेनरहरु मार्फत नयाँ नियूक्त गरिएका कर्मचारीहरुलाई तालिम संचालन गरिएको बताए । झाले गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भईरहेको बताए ।
महाप्रबन्धक झाले कानूनले दिएको अधिकार प्रयोग गरेर मात्रै आफूले नयाँ कर्मचारी नियूक्त गरेको र नेपाल रेल्वे ऐनले दिएको अधिकार बमोजिम नै उनीहरुका लागि तालिम पनि सञ्चालन गर्न लागिएको दावी गरे ।
महाप्रबन्धक झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका सयौं कर्मचारीलाई हटाएका थिए । जयनगर-कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिका स्थित ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा थन्काएर राखिएको छ ।
रेल्वेमा नयाँ कर्मचारी नियुक्त गर्दा विभागीय मन्त्रीले पैसा उठाए ः पूर्व प्रबन्धक गुरु भट्टराई
नेपाल रेल्वे कम्पनी लिमिटेडका पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईले नयाँ कर्मचारी नियुक्त गर्दा विभागीय मन्त्रीले पैसा उठाएको आरोप लगाएकाछन् ।
पूर्व महाप्रबन्ध भट्टराईले नयाँ नियुक्त भएका कर्मचारीहरुबाट जनही २ देखि ३ लाखसम्म रुपैयाँ सम्म असुल गरीएको आरोप लगाए । उनले रेल्वेमा जागिर दिएर तालिम गराउन लागेको आरोप लगाएका हुन् ।
पूर्व महाप्रबन्ध भट्टराईले कर्मचारीको तालिम गत असार मै सम्पन्न गरेर रेल सञ्चालनका निम्ति प्रधानमन्त्रीलाई उद्घाटनको मिति तय गर्न समेत आह्वान गरिसकेको अवस्थामा आफूलाई स्पष्टीकरण मागियो र राजीनामा दिएँको बताए ।
उनले पुराना कर्मचारीको एक महिने तालिममा १ करोड १५ लाख रुपैयाँ खर्च भएको बताए ।
पूर्वमहाप्रबन्धक भट्टराईले भने, ‘मेरो पालामा रेल मै काम गरेकाहरू मध्ये पुराना ६५ जनालाई घर-घरबाट खोजेर ल्याएका थिए। तर पुराना अनुभवीलाई हटाएर सुटुक्क नयाँ कर्मचारी भर्ना गर्नु गलत भएको बताए ।
समाचार संकलन गर्न गएका पत्रकार माथि दुर्व्यवहार
यता रेल्वेका पुराना कर्मचारीको आन्दोलनबारे समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ ।
समाचार संकलनका लागि बुधबार दिउँसो जनकपुरधाम स्थित मत्स्य विकास तालिम केन्द्र पुगेका कान्तिपुर टेलिभिजनका पत्रकार अमरकान्त ठाकुरमाथि प्रहरी निरीक्षक अवधेश यादव र प्रहरी सहायक निरीक्षक राजाराम यादवले हातपात गर्दै दव्र्यवहार गरेका छन् ।
रेल्वेका पुराना कर्मचारीले महाप्रबन्धक झा र प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दा अवस्था असामान्य भएको थियो । सोही विवाद बारेको समाचार संकलन गर्न पुगेका संचारकर्मी ठाकुरलाई प्रहरीले दुर्व्यवहार गरे ।
सञ्चारकर्मी ठाकुरले समाचार प्रयोजनका लागि महाप्रबन्धक झाको प्रतिक्रिया लिन मूलढोकाबाट भित्र प्रवेश गर्न खोज्दा पत्रकार ठाकुरमाथि प्रहरी निरीक्षक अवधेश यादव र प्रहरी सहायक निरीक्षक राजाराम यादवले जाइलागेका थिए ।
‘भित्र किन प्रवेश गरेको ?’ भन्दै प्रहरीले हातपात गरेपछि आफूलाई चोटपटक लागेको पत्रकार ठाकुरको भनाइ छ । घटनापछि नेपाल पत्रकार महासंघ धनुषाको अगुवाइमा घटनास्थल पुगेका पत्रकारहरूले बिहीबार बिहानसम्म दोषी प्रहरीलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले बताएका छन् ।