जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संसद चल्न नदिएको हुँदा नागरिकताको समस्या समाधान नभएको बताएका छन्।
धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अब संसद चले लगतै एमालेले नाराबाजी गरेपनि नागरिकताको समस्या समाधान गर्ने बताए।
उनले भने, ‘एमाले गुटले नै संसद चल्न दिएको छैन्। संसदमा बहस हुन दिएको छैन्। त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भईरहेको छ। तर अब सदन खुल्ने बितिकै सबभन्दा पहिले एमालेले माने पनि नमानेपनि नागरिकताको समस्या समाधान गर्नेछौं।’
प्रचण्डले बुवा आमाको नागरिकता भएर पनि छोराछोरीको नागरीकता प्राप्त गर्न नसक्नु लज्जास्पद अवस्था भएको बताए।
उनले अदालतले अध्यादेश ल्याएर हैनसंसदको अधिवेशनभित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्न भनेको हुँदा अध्यादेश ल्याएर यसलाई समाधान गर्न नसकिएको बताउँदै उनले यसलाई सदनबाट नै सम्बोधन गर्ने बताए।
पूर्व प्रधानमन्त्री समेत रहेको माओवादी अध्यक्ष प्रचण्डले मधेशी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि संघर्ष गरिरहने बताउँदै उनले भने, ‘अन्तिम समयसम्म पनि म मधेशको लडाईं र अधिकारलाई अघि बढाउने प्रतिवद्धता गरेको थिएँ। मैले मधेशका ८ वटै जिल्लामा भ्रमण गरेर अपिल गरेको थिएँ, जनताको अधिकारका निम्ति अन्तिम समयसम्म संघर्ष गरिहनेछौं।’