जनकपुरधाम - महोत्तरीको गाैशला नगरपालिकाले संघीय सरकारको निर्देशन गरेको शिक्षण संस्था बन्द बारेको निर्देशन नमान्ने जनाएकाे छ ।
संघीय सरकारले कोभिड संक्रमण बढेको भन्दै १५ माघसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिए पनि गौशाला नगरपालिकाले भने ४ माघ देखि पालिकाभित्रका सबै विद्यालय खोल्न निर्देशन दिएको छ ।
संघीय सरकारले निर्देशन जारी गरे कै दिन बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले ४ माघपछि कुनै पनि शिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको हो।
नगरपालिकाले २८ पुसदेखि ४ माघसम्म वर्षे बिदा कट्टा हुनेगरी जाडो बिदा भने दिएको तर कोरोनाको कारण विद्यालय थप बन्द नगर्ने जनाएको छ ।
नगर प्रमुख शिवनाथ महतोले जाडो विदा सकिए लगतै यसपछि सबै विद्यालय भौतिक उपस्थिति मै खुल्ने जनाएको छ ।
पालिकाले २७ पुसमा सूचना प्रकाशित गरी कोरोना संक्रमण रोक्न स्वास्थ्य मापदण्ड अपनाएर ४ माघपछि विद्यालयहरूमा नियमित पठनपाठन गर्न भनेको छ । ‘विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गरी जोखिमप्रति सचेत हुँदै सम्पूर्ण शिक्षण संस्था खोल्ने निर्णय गरेका हौँ,’ नगरप्रमुख शिवनाथ महतोले भने ।
नगरपालिकाको निर्णयलाई शिक्षण संस्थाहरूले समेत स्वागत गरेका छन् । जोखिमलाई आकलन गरी सुरक्षित वातावरणमा पठनपाठन गराउने निजी तथा सरकारी विद्यालयहरूले प्रतिबद्धता जनाएका छन् । तर, जिल्लाका अन्य पालिकाले भने केन्द्रको सूचनाको पालना गर्न निर्देशन दिएका छन् ।