महोत्तरी- महोत्तरीका दुई स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । महोत्तरीको भारत सीमानाका भिट्ठामोडमा स्थित हेल्थ डेस्कमा कार्यरत सिअनमी एकजना र जलेश्वर नगरपालिका स्वास्थ्य शाखाद्वारा प्रादेशिक अस्पताल जलेश्वरमा संचालित एमसिएचमा कार्यरत एक सिअनमी गरि दुईजना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखिएको हो।
कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि दुईजनाले एन्टिजेन परिक्षण गरेकोमा दुवैको रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरुले प्रादेशिक अस्पताल जलेश्वरमा रहेको पिसिआर ल्यावमा कोरोनाको जाँच गराएका थिए। परिक्षणमा विहिवार दुवैजनाको रिपोर्ट पोजिटिभ आएको छ ।
दुवैजनाको छाती दुख्ने र अन्य केहि लक्षणहरु रहेकोमा होम आईसोलेशन मै वसेर दुवै जनाले स्वास्थ्य लाभ लिईरहेको जलेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख संजय कुमार शर्माले बताएका छन्।
महोत्तरीमा स्वास्थ्यकर्मी सहित अन्य समेतमा कोरोना संक्रमण हुन थाल्दा समेत प्रादेशिक अस्पताल जलेश्वर स्थित पाँचवटा भेन्टिलेटर जनशक्ति अभावमा संचालनमा आउन सकेका छैनन् भने तत्काल नै कोरोना संक्रमित भर्ना गर्न प्रादेशिक अस्पताल जलेश्वर वाहेक अन्य कुनै स्थान तयारी अवस्थामा रहेको छैन ।
प्रादेशिक अस्पताल जलेश्वर मै समेत अहिले पुनः कोरोना विशेष अस्पताल संचालन गर्न जनशक्ति मिलाउन बाकि नै छ ।
महोत्तरीसंग जोडिएको भारतिय शहरहरु मधुवनी,दरभंगा,सितामढी र मुजफरपुर लगायतका क्षेत्रमा कोरोना बढ्न थालेपछि सोहि नजिक रहेका महोत्तरीको नाकामा समेत चेकजाँचलाई कडाई गरिए पनि अझै नाका र भित्री शहर कै नागरिकहरु कोरोनाप्रति सचेत देखिएका छैनन् ।
यता डिसिसिएमसीको वैठकहरुमा कोरोना न्युनिकरणका लागि विभिन्न उपाय अपनाउन सिफारिस भएकोमा जिल्ला स्थित सार्वजनिक सरोकारका कार्यालयहरुमा सेवा प्रवाहको लागि मास्क र कोरोना खोप लगाएको प्रमाण अनिवार्य गरिएको छ । तथापी बाध्यात्मक परिस्थिति वाहेक नागरिकले अझै मास्क प्रयोग गरेको देखिन्न ।
यता जिल्ला प्रसासन कार्यालय महोत्तरीले भ्याक्सिनेशनलाई अनिवार्य गरेर कार्यालय परिसर मै कोरोनाको भ्याक्सिन लगाउन डेस्क स्थापना गरेपछि कार्यालयमा सेवा लिन आउनेहरु भ्याक्सिन लिन थालेका हुन् ।
यता गत बुधवार देखि जलेश्वर स्थित मालपोत कार्यालयमा समेत कोरोना विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिसकिएको छ ।
महोत्तरीमा पहिलो डोज खोप ५६ प्रतिशतले लगाएका छन भने दोस्रो डोज ३४ प्रतिशतले लगाएका हुन। यता विद्यार्थीहरुको लागि महोत्तरी भित्र्याइएको मोडर्ना भ्याक्सिन ८५ प्रतिशत विद्यार्थीहरुले लगाईसकेको स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले बताए ।