
महोत्तरी - बर्दिवास नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरहरुलाई बन्ध्याकरण गरेका छन् नगरपालिकाले द,जेड गुडअल ईन्स्टिच्युट नेपाल झम्सिखेल ३ ललितपुरको प्राबिधिक सहयोगमा बर्दिवासका मुख्य बजारभित्र रहेका भाले,पोथी दुबै जातको २ सय १ छाडा कुकुरहरुकाे बन्ध्याकरण गरिएको बर्दिवास नगरपालिका पशु शाखाले जनाएको छ । पशु शाखाकाे अनुसार नगरभित्र रहेका छाडा कुकुरको टोकाइले मानवीय क्षति राेक्ने उद्देश्यले द जेड गुडअल ईन्स्टिच्युट नेपालका तालिम प्राप्त पशुविज्ञ प्राबिधिक डाक्टर बिकास श्रेष्ठको टोलीले कुकुहरुको बन्ध्याकरण गर्नु का साथै रेबिज रोग विरुद्धको खोप र जुकामार्ने औषधिको खोप दिइएको हो ।
नगरपालिकाको पशुबिकास शाखाका कर्मचारीको सहयोगमा छाडा कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउन यहि चैत्र ५गते देखि समातिएको थियो । बर्दिवास नगरपालिकालाई रेबिज रोगमुक्त बनाउने लक्ष्य सहित कार्यक्रम सञ्चालन गरिएको र पछि पुन: कुकुरहरुलाई छोडिएको पशु बिकास शाखाका अधिकृत बिमलकान्त यादबले जानकारी दिनुभयो । उहाँले हाल बर्दिवास नगरपालिका भित्र करिब १ हजार ५ सय भन्दाबढी छाडा कुकुरहरु रहेको बताउँदै पुन: दोश्रो चरणमा बजार क्षेत्रभन्दा बाहिरको कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाइने बताउनुभयाे ।

पछिल्लो समयमा नगरका विभिन्न स्थानमा कुकुरहरुको बिगबिगी र कुकुरको टोकाइबाट नगरवासी पीडित भएको गुनासो पछि नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रम प्रभावकारी भएको स्थानीयले जनाएको छ। पशुस्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएकोमा स्थानिय गोपि पोखरेलले नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।
पशुचिकित्सक डा. बिकास श्रेष्ठले कुकुर रहरले मात्र पाल्ने नभई कुकुरको पोषण, खोप,व्यायाम, तालिम आदिका बारेमा पनि सचेत हुनुपर्ने बताउनुभयाे ।उहाँले पर्याप्त ज्ञानको अभावले कुकुर पाल्दा अनावश्यक आर्थिक बोझ हुने भएकाले कुकुरलाई गहुँ, जौ र मकैका परिकार खुवाउन सल्लाह दिनुभयो ।