
महोत्तरीको बलवास्थित शिवशान्ति ज्वेलर्समा चोरी भएको छ । बलवा नगरपालिका–३ परौल बजारमा रहेको विशशान्ति ज्वेलर्सको ताल्चा फोडेर चोरहरुको समूहले गरगहनासंगै पसलमा राखिएको लकर चोरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार राति जीप चढेर आएका चोरहरूको समूहले लुटपाट गरी बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको र चोरी भएको गहण तथा जिन्सीबारे यकिन भइसकेको छैन ।
शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुण कुमार साहका अनुसार ५ जनाको समूहमा आएका चोरहरूले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा राखिएको भोल्ट (लकर), क्याम्राको हार्डडिस्क चोरी गरेर लगेको छ ।
सुन पसलमा लागेको क्याम्राको हार्डडिस्क चोरहरूले लगेपछि नजिकै रहेको अन्य क्याम्रामा चोरी गर्न प्रयोग भएको जीप र चोरीमा संलग्नहरूको भिडियो कैद भएको छ । पसलमा राति नै चोरी भएपनि आइतबार बिहान ९ बजेमात्रै थाहा भएको सञ्चालक साहले बताए ।
महोत्तरीका प्रहरी उपरीक्षक नक्कुल पोखरेलले अनुसन्धान गर्ने प्रहरीसहित परौल स्थान पुगेर अनुसन्धान थालेको छ । चोरीको स्थानबाट नजिकै बलवा इलाका प्रहरी कार्यालय रहेको छ ।