महोत्तरी- बर्दिबास नगरपालिकाले मापदण्ड विपरित संचालन भएका नगर क्षेत्र भित्रका क्रसर उद्योगहरु बन्द गर्ने निर्णय गरेको छ ।
वर्दिवास नगरपालिका आज पत्रकार सम्मेलनको आयोजना गर्दै मापदण्ड विपरित खुलेका क्रसर उद्योगलाई तत्काल बन्द गर्न २०७७ को मापदण्डमा आधारित भएर पत्राचार समेत गरिसकेको जनाएको छ ।




नगरप्रमुख विदुर कार्कीले १७ माघमा कार्यपालिकाको बैठक बसी ढुङ्गा, गिटी, बालुवा उत्खनन् सम्बन्धी ऐन २०७७ कार्यान्वयन गर्ने सबन्धमा गरिएको निर्णय अनुसार मापदण्डमा उल्लेख गरिएभन्दा विपरीत खोलिएका क्रसर उद्योगहरु अब पूर्णरुपमा बन्द गर्ने तयारी थालिएको बताए ।
नगरप्रमुख कार्कीले ढुङ्गा, गिटी, बालुवा तथा नदीजन्य वस्तुको उत्खनन्का सबन्धमा नयाँ अध्याय सुरु भएको जनाउँदै राजमार्गबाट ५ सय मिटर दूरीमा, शिक्षण संस्थाबाट दुई किलोमिटर दूरीमा, हाइटेन्सन लाइनबाट २ किलोमिटर दूरीमा, बन निकुञ्जबाट दुई किलोमिटर दूरीमा, पक्की पुलबाट पाँच सय मिटर दूरीमा, घनावस्तिबाट दुई किलोमिटर दूरीमा, चुरे पहाडको फेदिबाट १५ सय मिटर दूरीमा, खोला वा नदी किनारबाट पाँच सय मिटर दूरीमा नखोलिएका सबै क्रसर उद्योग बन्द गरिने जनाए।

नगरभित्र अहिले झण्डै २२ वटा क्रसर उद्योग छन् । धेरैजसो क्रसर उद्योगहरू नियमविपरित नै भएको नगरप्रमुख कार्कीको भनाइ छ ।
ढुङ्गा, गिटी, बालुवा बिक्री तथा व्यवस्थापन सम्बन्धी ऐन २०७७ अनुसार नदीजन्य वस्तुको बिक्री, वितरण तथा उत्खनन गर्नुपरेमा अनिवार्य वातावरणीय परीक्षण गर्नुपर्ने, उत्खनन गर्दा श्रमप्रबिधिको प्रयोग गर्नुपर्ने, सिचाइ प्रणाली जस्ता संरचनालाई असर नपर्ने गरी उत्खनन् गर्नुपर्ने जस्ता नियमहरू उल्लेख गरिएको छ ।
तर, अवैध उत्खनन्देखि मापदण्ड विपरीत खोलिएका क्रसरहरूको विषयमा सर्वसाधारणबाट नै ध्यानाकर्षण हुँदै आएको छ । सर्वसाधारणको समेत ध्यानाकर्षणलाई मध्यनजर गरी नगरपालिकाले गरेको निर्णयबाट अवैध उत्तखनन्देखि अवैध क्रसर उद्योग नियन्त्रण गर्नेगरी औपचारिकरुपमा नै कार्यविधि अगाडी बढेको नगरप्रमुख विदुर कार्कीले जानकारी दिए ।

नगरप्रमुख कार्कीले क्रसर उद्योगमा आफ्नो सेयर रहेको आरोपलाई समेत खण्डन गरेका छन् । ‘रातुनदीभित्र ठूलो समस्या बनिरहेको विषयमा स्थानीय सरकारमा निर्वाचित हुनुभन्दा पहिला पनि म लागेको थिए मेरो सेयर क्रसरमा भएको प्रमाणित गरेर देखाए जस्तोसुकै कारबाही भोग्न समेत म तयार छु,’ नगरप्रमुख कार्कीले भने ।
बदनाम गराउन कपोकल्पित ढङ्गबाट आरोप लगाएको जिकिर गर्दै आफ्नो कुनै पनि उद्योग कलकारखानामा लगानी नभएको नगरप्रमुख कार्कीले दाबी गरेका छन् ।
https://www.facebook.com/104607344773010/videos/506351824108014




