जनकपुरधाम- प्रदेश नम्बर २ को नाम र राजधानी मतदानबाट पनि नटुङ्गिने सङ्केत देखिएको छ । नाम र राजधानीका लागि प्रदेशसभा सदस्यहरुले आ-आफ्नो अडान दोहोर्याएपछि सहमति जुट्ने सङ्केत नदेखिएको हो ।
नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी टुंगो लगाउन फेरि मतदान प्रक्रिया मै गएको छ ।
आइतबारको बैठकमा प्रदेशसभा सांसदहरू बोल्ने क्रम नसकिएकाले आज सोमबार ११ बजे फेरि संसद् बैठक डाकिएको छ । सोमबार सांसदको बोल्ने क्रम सकिएपछि नाम र राजधानीको छिनोफानो गर्न मतदानको समय तोकिने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ ।
समितिले सुझाव सहित बुझाएको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । समितिले माघ पहिलो साता गोप्य मतदानमा जान प्रदेशसभालाई अनुरोध सहितको प्रतिवेदन बुझाएको छ । समितिले गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्धलगायतका व्यवस्थापन मिलाउने सुझावसहितको प्रतिवेदन प्रदेशसभामा पेस गरेको छ ।
प्रदेश सभाका सचिव रञ्जितकुमार यादवको अनुसार समितिले राजधानीका लागि ३ र नामकरणका लागि ४ वटा प्रस्ताव राखेर बाँकी प्रस्ताव खारेज गरेको छ । प्रदेश सभामा मतदानका लागि पहिले राजधानी सम्बन्धी प्रस्ताव प्रस्तुत गरिने छ । पहिलो मतदान हुने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए अर्को प्रस्ताव मतदानका लागि प्रस्तुत नगर्ने विशेष समितिमा सहमति भइसकेको छ । राजधानीको लागि जनकपुरधाम सहित धनुषा र महोत्तरीको भूभागलाई समेटिएको प्रस्ताव माथि पहिलो मतदान हुने छ ।
नाम र राजधानीका लागि हुने मतदानको सम्पूणर् तयारी पूरा भइसकेको सचिव यादवले बताए ।‘गोप्य मतदानका लागि आवश्यक तयारी भइसकेको छ ’ उनले भने, ‘विगतमा भए जस्तो यस पटक समय पनि लाग्ने छैन् ।’
सभामुख नेतृत्वको संसदीय समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला-भोजपुरा र मध्य मधेस तथा राजधानी जनकपुर सहित उत्तर पूर्वमा ढल्केवर-कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढ सम्मको भूगोल समेटिएको छ ।
प्रदेशको नाम मधेसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी (केन्द्र) को साझा प्रस्ताव हो । जानकी नाममा भने एमाले र नेकपा (एकीकृत समाजवादी) तथा मिथिला-भोजपुरा कांग्रेसको प्रस्ताव हो । यी सबै दलका बारा-पर्साका सांसदको छुट्टै प्रदेशको नाम मध्य मधेस भनेर प्रस्ताव गरेका छन् । राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा-पर्साका सबै दलका सांसदहरुले वीरगन्ज छुट्टै प्रस्ताव हालेका छन् ।
विशेष समितिले १५ दिन सम्म गरेको प्रयास सफल नभएपछि दलहरुको अडान सहितको प्रतिवेदन सभामा पेश भएको हो । आइतवार देखि प्रदेश सभामा पेश भएका प्रस्तावहरु उपर छलफल सुरु भएकोमा आज सोमवार बस्ने बैठकका लागि छलफललाई निरन्तरता र त्यसपछि मतदान हुने कार्यसूची बनाइएको छ । सभासदहरु आ-आफ्नो प्रस्तावको पक्षमा दृढता व्यक्त गरे पनि अन्तिममा राजधानी र नामकरणका प्रस्ताव पारित गर्ने संकेत गरेका छन् । विशेष समितिले तयार पारेको ६ बुदँे प्रतिवेदनमा गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्ध लगायत व्यवस्थापन मिलाउनुका साथै मतदान प्रक्रिया प्रदेशसभाको सभाकक्ष सित जोडिएको कक्षमा गर्न उल्लेख छ ।
छलफलमा मुख्यमन्त्री नै गयल
आइतबार प्रदेश २ को प्रदेशसभा बैठकमा नाम र राजधानीको विषयमा छलफल चलिरहेको थियो। तर सो छलफल चलिरहँदा अधिकांश प्रदेशसभा सदस्यहरु गयल रहेको देखियो। जसपाका अधिकांश प्रदेशसभा सदस्यहरु पार्टीको कार्यक्रममा सहभागी भएका थिए। गयल हुनेको लिस्टमा प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत समेत परे ।
मुख्यमन्त्री राउत दलबल सहित धनुषा कै मुखियापट्टी मुसहरनिया गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भए तर प्रदेशको नाम र राजधानीका लागि प्रदेशसभामा चलिरहेको छलफलमा सहभागी भएनन्।
प्रदेशसभाको छलफलको क्रममा प्रदेशसभा सदस्य रानीकुमारी शर्माले मुख्यमन्त्री लालबाबु राउत स्वयं प्रदेशको नाम र राजधानीको निर्कयौल लगाउने विषयमा गम्भिर नरहेको आरोप लगाईन् ।
उनले भनिन्, ‘मुख्यमन्त्री राउतका लागि प्रदेशको नामको विषयमा निष्कर्ष लगाउने लगाउनका लागि चलिरहेको छलफलमा सहभागी हुनका लागि समय छैन ।मुख्यमन्त्रीका लागि प्रदेशको नाम पाउने विषय महत्वपूणर् होइन, पार्टीको प्रवेश कार्यक्रम महत्वपूणर् छ।’
[pdf-embedder url="https://shirishnews.com/wp-content/uploads/2022/01/Namakarna_bisesh_sam_2.pdf"]