महोत्तरी – नेपाल सरकारले देशभर शोक दिवस मनाउने निर्णय गरेअनुसार रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएकाहरूप्रति मटिहानी नगरपालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ।
मटिहानी नगरपालिकाको आह्वानमा आज बिहान ११ बजे नगर क्षेत्रका विभिन्न स्थानमा एक मिनेट मौनधारण गरी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो। मौनधारणमार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो।



नगरपालिकाको आह्वानअनुसार सरकारी कार्यालय, विद्यालय, मदरसा तथा सार्वजनिक स्थलमा रहेका नागरिक, कर्मचारी, शिक्षक तथा विद्यार्थीले आफू रहेकै स्थानमा उभिएर एक मिनेट मौनधारण गरेका थिए। मौनधारणका क्रममा नियमित कामकाज तथा गतिविधिसमेत केही समयका लागि स्थगित गरिएको थियो।
नगर प्रमुख हरिप्रसाद मण्डलले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाले मौनधारण कार्यक्रम आयोजना गरेको बताउनुभयो।
यसैगरी,शोकको प्रतीकस्वरूप मटिहानी नगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।













