जनकपुरधाम - प्रदेश २ को राजधानीका लागि प्रदेशसभामा मतदान प्रकृया सुरु भएको छ । जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव संयुक्त सात दलले राखेका थिए ।
उक्त प्रस्तावमा मतदान सुरु भएको प्रदेश २ प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
प्रदेशसभा सांसद परमेश्वर साहले संयुक्त दलको तर्फबाट प्रस्ताव राखेका थिए ।प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ७३ क को उपनियम २२ बमोजिम प्रदेशको राजधानी जनकपुरधाम बनाउन मतदान सुरु भएको हो ।
यो प्रस्तावमा दुईतिहाइ बहुमत जुटेमा सोमबारदेखि नै जनकपुरधाम प्रदेश २ को स्थायी राजधानी कायम हुनेछ। यस प्रस्ताव अनुसार उत्तरमा धनुषा ढल्केबरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिक परिक्रमा क्षेत्र रहेको समेटिएको छ।
यो प्रस्तावमा दुईतिहाइ पुगे जनकपुरधाम राजधानी पास हुनेछ। यदि दुइ तिहाइ नपुगे पर्साको वीरगन्जलाई राजधानी बनाउनुपर्ने दुईवटा प्रस्तावमा क्रमशः मतदान हुने तालिका रहेको छ।